नेपाल एयरलाइन्सका अधिकारीले  ३ लाख ४० हजार युरो घुस खाएकाे पुष्टि, फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले गरे अनुसन्धान

६ बर्ष अगाडि

युरोपेली एयरोस्पेस कम्पनीले नेपाली व्यवसायी र अधिकारीहरूलाई ३ लाख ४० हजार युरो घूस दिएको स्वीकार गरेको छ ।

कम्पनीले नेपाल एयरलाइन्स कर्पोरेशनसँग दुई 'न्याराेबडी' जहाज एरबस ए ३२० को ठेक्का सुरक्षित गर्नका लागि उक्त घुस दिएको हो ।

फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धान अनुसार फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयमा घुस खुवाएकाे प्रमाण रहेका कागजात फेला परेका छन् । 

एयरबसले नेपालमा जहाज बिक्री गर्नका लागि सन् २०१४ र २०१५ मा दुई पटकमा ३ लाख ४० हजार युरो पठाएको अनुसन्धान प्रतिवेदनले जनाएकाे छ । 

एयरबसले नेपालमा जहाज बिक्री गर्न सन् २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेको र ती व्यापारीबाट उक्त रकम नेपाली अधिकारीहरुलाई भुक्तानी भएको बताइएको छ । 

ति निकायले गरेकाे  अनुसन्धानको क्रममा नेपाल एयरलाइन्सका अधिकारीसँग पनि बयान लिएर उक्त कुरा पुष्टि गरिएका थिए ।  

जहाज खरिदकाे समयमा  नेपाल एयरलाइन्सको महाप्रबन्धक रहेका मदन खरेल पछि  कार्यकारी अध्यक्ष बनेका र  दुई साताअघि राजीनामा दिएर विदेश गइसकेका छन्। 

सन् २००९ मा नेपाल एयरलाइन्सले एउटा एयरबस ए ३२० र एउटा ए ३३० जहाज किन्नेगरी एमओयु भएपनि पछि सन् २०११ मा दुबै जहाज ए३२० किन्ने सम्झौता भएकाे थियाे । ती दुवै न्यारोबडी जहाज सन् २०१५ मा नेपाल आइपुगेका थिए।

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया