सर्भे भएको १३ महिना बित्यो पुल बन्ने सुरसार छैन

६ बर्ष अगाडि

सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा  पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा  पक्की पुल बनाउन सर्भे गरिएको थियो । 

सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई  पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने  काम अगाडि बढाएको छ ।

पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न  प्रदेशको  भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए। “जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालयले सर्भे गरेको थियो । त्यो ठाउँमा नगरेर अहिले छुट्टै ठाउँमा गरियो”, उनले भने, “जहाँ भए पनि पुल बने भइहाल्थ्यो तर अहिलेसम्म कुनै काम भएको छैन ।”

एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए। तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए।

६ बर्ष अगाडि

प्रतिक्रिया