सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ । चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ । श्रेष्ठको घर पिंढीमा प्रयोग भएको इँटा १४औँ शताब्दीभन्दा अगाडिमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुङ्गेलले जानकारी दिए।
सङ्खुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् डा ढुङ्गेलले बताए। उनले भने, “६०० वर्षभन्दा पुरानो इँटाहरु फेला परेको छ ।” यो चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण भएको उनले दाबी गर्नुभयो । चैनपुरमा पहिलो पटक मल्लकालीन समयमा प्रयोग हुने गरेको इँटा फेला परेकाले यसलाई संरक्षण गर्नु आवश्यक भएको उनको भनाइ थियो ।
फेला परेको इँटाको लम्बाइ १४, चौडाइ आठ र मोटाइ दुई इञ्च रहेको डा ढुङ्गेलको भनाइ छ । इतिहासविद् डा ढुङ्गेलले यो पुरानो इँटा भएकाले यसलाई पुरातत्व विभाग, स्थानीय प्रतिनिधि र स्थानीयवासीलाई आह्वान गरेर विशेष ढङ्गले त्यसको सुरक्षा गर्नुपर्ने धारणा राखे।
मल्लकालीन इँटाको बारेमा पुरातत्व विभागमा लिखित रुपमा जानकारीसमेत गराउने बताइएको छ । नेपाल एकीरण अगाडिबाटै इतिहासमा सङ्खुवासभाको महत्व रहेको छ । यसअघि भोटखोला गाउँपालिकाको हटिया गोलामा १२ हजार वर्षअघिका हतियारसमेत फेला परेकाले डा ढुङ्गेलले जानकारी दिए।
चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले मल्लकालीन इँटाले चैनपुरको मात्र नभएर सिङ्गो सङ्खुवासभाकै लागि इतिहास भएको बताए। नगरपालिकाले यसको संरक्षणमा ध्यान दिने उनले बताए। त्यसैगरी चैनपुरकै सिद्धकाली मन्दिरमा पुरानो शिलालेख अझै रहेको छ । चैनपुरको इतिहासमा अहिले पनि मेजर पाटीको रुपमा रहेको पाटीलाई त्यस सयममा बस्नेत पौवा भनिने गरेको इतिहासविद्को भनाइ छ ।
तत्कालीन नेपालका दोस्रो मुख्य काजी बत्तावरसिं बस्नेत मूल काजी हुनुभन्दा अगाडि पूर्वको एकीकरण हुनु पहिले एकीकरण योद्धाको रुपमा आउँदा भोट र सिक्कीमा सैन्य लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन बस्नेतको टोलीले ठूलो देन दिएका थिए । विसं १८३०÷३१ मा पृथ्वीनारायण शाहको पालामा बत्तावरसिंका बुबा जनरल अभिमानसिं बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई मिलाएको इतिहासमा उल्लेख भएको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया