‘एनआरएन’ले काठमाण्डौका तीन स्थानमा शौचालय बनाइदिने

६ बर्ष अगाडि

गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने सङ्घले नै व्यहोर्ने छ ।  

चार स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि  पहिलो चरणमा  कलङ्की र कोटेश्वरमा शौचालय निर्माण गरिने छ ।  ती दुई स्थानका लागि  आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी  छ । त्यसैगरी सङ्घले चाबहिलमा चाहे पनि निर्माणका  लागि कामपाले स्वीकृति दिएको छैन ।

 महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन । अध्यक्ष पन्तले भने, “निर्माण गर्न लागिएका सबै शौचालयहरु लैङ्गिकमैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।”
    

अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि रु ६५ लाख लाग्ने छ ।  एउटा शौचालय निर्माणका लागि तीन महिना लाग्ने अनुमान गरिएको छ ।  बढीमा आगामी आठ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय निर्माणपछि  व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको  एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिएका छन । 

राजधानी काठमाडौँ सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हँदा अत्यन्तै फोहर र दुर्गन्धित छ । प्रायः शौचालयहरुमा हात धुन साबुन पनि राखिएको पाइँदैन  । सबैले प्रयोग  गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बतए।  

एक पटकमा बढीमा सात जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको उक्त शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भए पनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने  जनाइएको छ ।    
 

६ बर्ष अगाडि

प्रतिक्रिया