११ बैंकको वित्तिय विवरण सार्वजनिकः ३ बैंकको नाफा घट्यो, ६ बैंक अर्ब क्लव

६ बर्ष अगाडि

काठमाडौं –  सोमबारसम्म २७ बाणिज्य बैंक मध्ये ११ बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । सरकारी स्वामित्वको नेपाल बैंकसहित निजी क्षेत्रका कुमारी बैंक, सनराइज लगायतका ११ बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । 
नियमअनुसार बाँकी रहेका बाणिज्य बैंकले पनि यो माघ महिनाको अन्त्यसम्म वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । ११ बैंकको वित्तिय विवरणलाई तुलना गर्दा बैंकहरुको नाफा ७.६७ प्रतिशत मात्र बृद्धि भएको छ । 
गत आवको समिक्षा अवधीमा ति बैंकहरुले रू. १२ अर्ब १७ करोड १८ लाख खुद नाफा कमाएको थिए । चालु आवको समिक्षा अवधीमा भने बैंकहरुले रू. १३ अर्ब १० करोड ६० लाख यस्तो नाफा कमाएका छन् ।
पहिला बैंकहरूको नाफा दोहोरो अंकको प्रतिशतमा बृद्धि हुने गरेको थियो । तर, यो आवको सुरु देखि नै बैंकको नाफा खुम्चिदै गएको छ । पछिल्लो समय राष्ट्र बैंकले स्प्रेडदरमा कडाई गरेको छ । साथै, प्रतिस्पर्धाको बजारमा बैंकहरुले बढी मात्रामा शाखा विस्तार गरेका छन्, कर्मचारी पनि बढाएका छन् । त्यसरी अहिले बैंकहरुको सञ्चालन खर्च बढेको छ । तर, त्यो अनुसारको आम्दानी भने हुन सकेको छैन, जसअनुसार बैंकहरुको नाफा सोचे अनुरुप नबढेको जानकार व्यक्तिहरु बताउछन् । 

गत आवको समिक्षा अवधीको तुलनामा अहिले ३ बैंकको नाफा घटेका छ । तथ्यांकअनुसार नेपाल बैंकको १८.०४ प्रतिशत, सिद्धार्थ बैंकको ४.०१ प्रतिशत र सिटिजन बैंकको १०.२१ प्रतिशतले नाफा घटाएको छ । 
लामो समयसम्म घाटामा रहेको नेपाल बैंकले गत आवमा अत्याधिक नाफा कमाएको थियो । तर, यो बर्षदेखि फेरी उक्त बैंकको नाफा घटेको छ ।
यस्तै, समिक्षा अवधीमा ६ बैंकले अर्ब भन्दा बढी नाफा कमाएका छन् । अर्ब क्लवमा एनआईसी एसिया, नेपाल बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शियल बैंक, सानिमा बैंक र सिद्धार्थ बैंक रहेका छन् । सबैभन्दा बढी नाफा भने एनआईसी एसियाले कमाएको छ । उक्त बैंकले यो अवधीमा रु. २ अर्ब १ करोड ६२ लाख कमाएको छ ।

कुन बैंकको कति नाफाः

६ बर्ष अगाडि

प्रतिक्रिया