काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । यसअघि हिजो बोलाइएको बैठक नेताहरुबीचको विवादका कारण बस्दै नबसी स्थगित गरेर आजको लागि बोलाइएको हो ।
पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेताहरुबीच हिजो दिनभरको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
विशेषगरी महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा नेताहरुबीच छलफल भएको कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूले जानकारी दिए ।
गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।
सोही निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्षनेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको बताइएको छ ।
प्रतिक्रिया