काठमाडौँ । राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा राजश्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भुक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत आगामी जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र ठूला करदाता कार्यालयमा पठाएको बताएका हुन् ।
उनले सर्वोच्च अदालतको २०७६ भदौ ९ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा १ सय २० बमोजिम पूँजीगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताए ।
त्यससँगै २०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठूला करदाता कार्यालयले पत्राचार गरेको र २०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको उनले बताए ।
त्यससँगै एनसेलले बाँकी रकम सन २०२० को जुन महिना सम्म किस्तामा तिर्नपाउँ भनि पत्र पठाएको समेत उनले बताए ।
उनले एनसेलले मार्च महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, अप्रिल महिनाको अन्त्यमा ४ अर्ब ५४ करोड रुपैयाँ, मे र जुन महिनाको अन्त्यमा पनि चार अर्ब ५४ करोड रुपैयाँको दरले गरी चार किस्तामा कूल १८ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गर्ने सूची सहितको पत्र पठाएको तर ठूला करदाता कार्यालयले त्यसको जवाफ नपठाएको बताए ।
प्रतिक्रिया