महिलामाथि हिंसा रोकिएन ६ महिनामा २९ महिलामाथि हिंसा

६ बर्ष अगाडि

दाइजो लिने दिने प्रचलनलाई कानुनी रुपमा सजायँ हुने स्पष्ट रुपमा व्यवस्था गरिएको भएपनि दाइजो नल्याएको वा कम ल्याएको निहुँमा महिलामाथि हिंसा हुने क्रम रोकिन सकेको छैन । 
महिलालाई जिउँदै जलाउने, कुटपीट गर्ने, मानसिक यातना दिने, घरनिकाला गर्ने, आत्महत्या गर्न बाध्य बनाउने, परिवारबाट वेवास्ता गर्ने जस्ता घटनाहरु दिनप्रतिदिन सार्वजनिक भइरहेका छन् । 

गत असोज महिनामा धनुषाकी प्रीति शाहलाई दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमान र ससुराले बारम्बार शारीरिक तथा मानसिक यातना दिएपछि सहन नसकी आत्महत्या गर्न बाध्य बनाइएको घटना होस् या ३ महिना अघि दाइजोको कारणले सासु र श्रीमान्बाट मरणासन्न हुने गरी शारीरिक यातना खेप्न बाध्य बनाइएको वीरगञ्ज महानगरपालिकाकी रञ्जुदेवीको घटना किन नहोस् । यी र यस्ता घटनाहरु दाइजोको कारण महिला माथि भएका हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनअनुसार पछिल्ला ६ महिनामा २९ जना महिलामाथि दाइजोको कारणले विभिन्न स्वरुपमा हिंसा भएको पाइएको छ ।
                       
संकलन गरिएका जम्मा ७२४ वटा महिला हिंसाका घटनाहरु मध्ये २९ वटा दाइजोसम्बन्धी घटनामा १६ जना महिलामाथि दाइजोको कारण कुटपीट भएको, ५ जना महिलामाथि मानसिक हिंसा भएको र ४ जनालाई घरनिकाला गरिएको पाइएको छ । यस्तै २ जनाको हत्या, १ जनाको हत्या प्रयास र १ जना आत्महत्या गर्न बाध्य भएको पाइएको छ । पौष महिनामा मात्रै ११२ जना महिलामाथि हिंसा भएको पाइएको छ । 
 
यसरी संकलित घटनाहरुमध्ये सबैभन्दा धेरै ४९ प्रतिशत (५५ जना) महिलाहरुमाथि घरेलु हिंसा, १८ प्रतिशत (२० जना) यौन हिंसा, १० प्रतिशत (११ जना) सामाजिक हिंसा, सोही प्रतिशतमा ११ जना महिलाको हत्या, ८ प्रतिशत (९ जना) बेचविखन, २–२ प्रतिशत (३ जना र २ जना) आत्महत्या र हत्या प्रयास र १ प्रतिशत बेचविखनको प्रयासका घटनाहरु अभिलेखीकरण गरिएको संस्थाले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया