समाचार प्रभाव : वैज्ञानिकलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

६ बर्ष अगाडि

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले लामो समयसम्म सरुवा भएको कार्यालयमा नजाने कृषि वैज्ञानिकलाई सात दिन भित्र हाजिर हुन जान निर्देशन दिएको छ । 

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुरमा सरुवा भएपनि अटेर गरेर बस्ने एस १ तहका वैज्ञानिक आनन्द मिश्रलाई सात दिन भित्र सरुवा भएको हाजिर हुन जान निर्देशन दिइएको नार्क प्रशासन महाशाखा प्रमुख बाबुराम पौडेलले बताए । 

आजको अर्थले नार्कका अटेरी वैज्ञानिक, तलव खुवाउन नक्कली काज शिर्षकको समाचार प्रकाशित गरेपछि उनलाई सातदिनभित्र हाजिर हुन जान निर्देशन दिएको उनको भनाई छ । ‘उहाँ जापानमा अध्ययनमा रहेको समयमा सरुवा भएकोले अध्ययन सकेर फर्केपछि हाजिर हुनुभयो होला भन्ने थियो’, पौडेलले भने, ‘तर नगएको थाहा भएपछि सातदिनभित्र हाजिर हुन जान निर्देशन दिएका छौँ, नगएमा आवस्यक कार्वाही प्रकृया अगाडि बढाउँछौं ।’ 

मिश्र कृषि इन्जिनियरिङ्ग शाखा खुमलटारबाट २०७३ माघमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुर बारामा दरबन्दीसहित सरुवा भएका थिए । 

सरुवाको समयमा अध्ययन विदामा जापान रहेका उनी जापानबाट आएको पनि एकवर्ष भन्दा धेरै भयो । नार्कको कर्मचारी प्रशासन विनियम २०४९ अनुसार अध्ययन विदाबाट फर्केको २१ दिनभित्र सरुवा भएको कार्यालयमा हाजिर हुनुपर्छ ।   

तर उनी फर्केको १ वर्षसम्म पनि दरबन्दी नै नभएको ठाउँमा बसेका छन् । 

सरुवा भएको कार्यालयमा जान अटेरी गरेपछि उनलाई कृषि इन्जिनियरिङ्ग महाशाखा प्रमुख श्रीमत श्रेष्ठले काजको नक्कली कागजात तयार पारेर तलव खुवाएको फेला परेको छ । 

उता उनको दरबन्दी भएको परवानीपुरमा भने बैज्ञानिकहरुको अभाव छ । १८ जना वैज्ञानिकको दरबन्दी रहेको केन्द्रमा ३ जनामात्रै कार्यरत छन् भने अधिकृतस्तरका २८ जना दरबन्दीमा १२ जना मात्र कार्यरत छन्। 

केन्द्रमा जम्मा ७९ जनाको दरबन्दी रहेकोमा पचास प्रतिशत मात्रै दरबन्दी रहेको परवानीपुरका प्रमुख केशव प्रसाद श्रेष्ठले बताए । ‘वैज्ञानिक र कर्मचारी नभएपछि हामीले भनेजतिको काम गर्न सकेका छैनौँ’ उनले भने, ‘अहिले नयाँ अनुसन्धान भन्दा पनि नियमित कार्यालय सञ्चालन मात्र छ ।’ 

पढ्नुहोस् 

नार्कका अटेरी वैज्ञानिक, तलव खुवाउन नक्कली काज 

६ बर्ष अगाडि

प्रतिक्रिया