‘असारे विकास’ अन्त्य गर्न पहल

७ बर्ष अगाडि

रघुगङ्गा गाउँपालिकाले ‘असारे विकास’ विकृति न्यूनीकरणका लागि चालु आवका लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम २०७५ चैत १५ गतेभन्दा अघि सम्झौता गरिसक्नुपर्ने बाध्यकारी निर्णय गरेको छ ।
 
गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आर्थिक वर्षको अन्त्यमा गरिने पूर्वाधार निर्माण, तालीम र गोष्ठीजस्ता कार्यक्रम दिगो, प्रभावकारी तथा उपलब्धिमूलक नदेखिएकाले सुधारको पहल थालिएको बताउनुभयो । समयमै गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईंले योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई तालीमको ब्यवस्था गरिएको बताउनुभयो । विसं २०७६ जेठभित्र सबै योजनाका काम फरफारक गरिसक्नुपर्ने र दोस्रो चौमासिकको शुरुदेखि नै योजना कार्यान्वयनमा लगिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको गत असारमा भएको गाउँसभाले चालु आवका लागि रु २५ करोड बजेट विनियोजन गरेको थियो । सडक नपुगेका बस्तीमा सडक पु¥याउने, ट्याक खोलिएका सडकको स्तरोन्नति, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आयआर्जन वृद्धि, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, सामुदायिक भवन, खानेपानी विस्तारका योजनालाई प्राथमिकता दिइएको उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया