तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।
कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ को लागि रु २५ लाख विनियोजन भएकोमा पहिलो चैमासिकमा रु छ लाख ३३ हजार ७५० र दोस्रो चौमासिकमा रु आठ लाख ५० हजार ९२० बजेट निकासा गरिसकिएको उनले बताए ।
प्रत्येक विद्यालयमा जनप्रतिनिधिको निगरानी रहने गरी पत्रुखाना रहितको खाजाको व्यवस्था गरिएको छ । उनले भने, “कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्दै आएका छन् ।”
खाजाको परिकारमा तरकारी चिउरा, चना अण्डा, र महिनामा एक दिन मासु चिउराको व्यवस्था हुनेछ । गाउँपालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले प्रदान गरिएको र अभिभावकसँग रु पाँच का दरले पैसा सङ्कलन गरिएको उनले जानकारी दिए। विद्यालयमा खान पकाउने सामग्रीको व्यवस्था गरी एक जना कर्मचारी खाजा बनाउने, खुवाउने र भाँडा माझ्नको लागि राखिएको छ ।
कार्यक्रम लागू भएका विद्यालयको समय समयमा अनुगमन गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिए। विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए।
प्रतिक्रिया