शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथेको र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक प्रतिस्थापन गरिसकिएको थियो ।
शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्रका लागि साहदत प्राप्त गर्ने चारै शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको हो । महेश तुलाधरले निर्माण गर्नुभएको सालिक नगर प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले सालिक अनावरण गरेका छन ।
प्रमुख शाक्यले व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदलाई चिरकालसम्म सम्झना गरिरहन पूर्ण कदको सालिक निर्माण गराएको बताए । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नु पर्ने खाँचो औँल्याए ।
हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते शहीद चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । विसं १९६० असार १७ गते बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए ।
त्यस्तै विसं १९७५ मा रामेछापको भङ्गेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो राणा शासनविरुद्ध लागेको भन्दै शहीद शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । शास्त्री विसं १९५० बनारसमा जन्मिएका थिए ।
विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका शहीद माथेमालाई तत्कालीन राणा शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।
त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ ।
महानगरपालिकाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।
प्रतिक्रिया