थारू नाच र वेशभूषामा आकर्षित हुँदै युवायुवती

६ बर्ष अगाडि

घोराही उपमहानगरपालिका–१७ ढिकपुरकी १४ वर्षीया अन्जिता चौधरी आफ्नै थारू वेशभूषामा रमाउँदै गरेको पटकपटक भेटिन्छन । 

गोरखा आवासीय माविमा कक्षा १० पढ्दै गर्नुभएकी उनी हिजोआज फुर्सदको समयमा थारू जातिले नाच्ने विभिन्न किसिमका नाच सिक्छन र अवसर पाएको ठाउँमा थारू नाच देखाउन सक्रिय हुनुहुन्छ । 

जिल्लामा हुने थारू वेशभूषा प्रतियोगिता, मेला महोत्सवमा वा बोलाइएको सांस्कृतिक कार्यक्रममा उनको सहभागिता सक्रिय रहन्छ । 

अन्जिता जस्तै गोरखामा नै कक्षा ११ मा अध्ययनरत सुस्मिता चौधरी पनि आफ्नै जातीय वेशभूषामा सजिन मन पराउछन । सत्र वर्षीया सुस्मितालाई थारू जातिले लगाउने पहिरनमा बड्का नाच, छोक्रा नाच, सख्यापैँया नाचहरु नाच्न निकै मनपर्छ । 

थारू जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा सुत्या, माल्या टाउकामा मङ्ग्यामा सजिँदा उहाँले आफूलाई निकै आकर्षित भएको महसुस गर्छन । 

मेला, महोत्सव, गाउँशहरमा हुने कार्यक्रम, विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उनी पनि सधैँ यसरी नै वेशभूषामा सजिएर भाग लिन मन पराउछन । 

आफूभन्दा अघिल्लो पुस्ता अग्रजहरूले उनीलाई यसरी जातीय पोसाकमा सजिन र आफ्नो प्रस्तुति देखाउनका लागि प्रेरित गर्छन ।    

कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय अजित चौधरी पनि टाउकामा मङ्ग्या, फ¥र्या, बु¥र्यालगायत थारू जातिको वेशभूषामा सजिएर नाच्न मन पराउछन ।

 उनले गाउँका दाजुहरुले सिकाउनुु हुन्छ, आफ्नो वेशभूषा र नाच सबैलाई देउखाउनुपर्छ भन्छ्न । उनले भने, “मलाई पनि आफ्नो जातिको पोसाकमा नाच्न खुब रमाइलो लाग्छ ।” आफूभन्दा माथिल्लो पुस्ताको प्रेरणाले नै उनलाई पनि आफ्नो जातिले लगाउने वेशभूषा र नाचमा आकर्षित बनाएको हो । 

उनीहरु जस्तै यहाँका विभिन्न थारू बस्ती बाक्लो भएको गाउँमा थारू युवायुवतीहरु अहिले प्रायः मेला महोत्सव चाडपर्वको समयमा थारू जातिको वेशभूषामा सजिएर नाच्दै गरेको भेटिन्छन् ।

 परापूर्वकालदेखि आफ्ना अग्रजहरुले लगाउँदै आएको थरीथरी र रङ्गीचङ्गी वेशभूषा लगाउन उनीहरुलाई औधी रमाइलो लाग्छ ।

 जिल्लाका सबैजसो धार्मिकस्थलमा लाग्ने मेला महोत्सवमा थारू जातिका युवायुवतीहरु आआफ्नो वेशभूषामा नाचगान गर्ने र पाहुनाको स्वागतमा खटिने गर्छन् । 

पछिल्लो समय यो क्रम झनै बढेको छ । आफ्नो वेशभूषामा सजिने अनि लोक नाच प्रस्तुत गर्ने क्रम मौलाउँदै जान थालेको छ ।  

थारू जातिमा सङ्खिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, हुदुङ्ग्या नाच, मयूर नाच र बड्का नाच पनि नाच्ने गरिन्छ । 

केही वर्षयता जिल्लाका सबैजसो ठाउँमा मेला महोत्सव पनि लाग्ने र जाति विशेषले आफ्नो मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हँुदा थारू समुदायको कला, संस्कृति र मौलिक नाचले ठाउँ पाएको थारू अगुवाहरुको भनाइ छ । 

थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी दुई तीन वर्षदेखि थारू समुदायको नाच व्यापकरूपमा चलनचल्तीमा आएको बताउछन ।

 “पछिल्लो समय सांस्कृतिक कार्यक्रम गर्ने जमात बढेको हुँदा लोकनाचहरुले निरन्तर मञ्च पाइरहेका छन्”, उनले भने, “गाउँघरमा पनि युवायुवतीहरु क्लब, समूह, सङ्घसस्था गठन गरेर मौलिक नाच सिक्ने, वेशभूषामा सजिने क्रम बढेको छ ।” उनका अनुसार स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि लोककलाले अलि बढी ठाउँ पाएको छ । 

जनप्रतिनिधि वा स्थानीय सरकार आफैले चासो नदिए पनि कलासंस्कृतिका अगुवाहरुले आग्रह गरेमा लोकसंस्कृति जगेर्नाका लागि स्थानीय सरकारले पनि चासो दिएको उनी बताउछन । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया