काठमाडौं – नेपाल सबैभन्दा बढी रेमिट्यान्स खाडी मुलुकहरुबाट आउने गरेको पाइएको छ । नेपालमा आउने कुल रेमिट्यान्स मध्ये खाडी मुलुकहरुबाट आउने रेमिट्यान्सले ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।
राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा सबैभन्दा बढी रेमिट्यान्स कतारबाट आउने गरेको छ । पहिले अमेरिकाबाट सबैभन्दा बढी रेमिट्यान्स आउने गरेको बताइएको थियो । तर, राष्ट्र बैंकको अध्ययनले अमेरिका सबैभन्दा बढी रेमिट्यान्स आउने हल्लालाई गलत सावित गरिदिएको छ ।
पहिला विदेशका अधिकांश नेपालीले वस्टर्न युनियन मनी ट्रान्सफरबाट पैसा पठाउने गरेको थिए । तर, त्यसको सेटलमेन्ट अमेरिकामा हुन्थ्यो । त्यसैले अमेरिकाबाट सबैभन्दा रेमिट्यान्स आउने देखिएको थियो ।
यसरी गलत तथ्यांक देखिएपछि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी तथा वाणिज्य बंैकहरुबाट प्राप्त विवरणको अध्ययन गरेर विप्रेषण आप्रवाहको देशगत स्थिति तयार गरेको हो । उक्त अध्ययनले खाडी मुलुकहरुबाट नै बढी रेमिट्यान्स आउने गरेको देखाएको छ ।
चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको ५०.३ प्रतिशत रहेको छ । खाडी मुलुकहरुमध्ये सबैभन्दा वढी विप्रेषण कतारबाट (१७.७ प्रतिशत) प्राप्त भएको छ भने दोश्रोमा यू.ए.ई.बाट (१३.४प्रतिशत) प्राप्त भएको छ । तथ्यांकअनुसार साउदी अरेबिया तथा मलेशियाबाट प्राप्त विप्रेषणको कुल विप्रेषणमा क्रमशः १२.५ प्रतिशत र ९.७ प्रतिशत हिस्सा छ । बहराइन तथा कुवेत जस्ता खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण रकम कुल विप्रेषणको ४ प्रतिशत भन्दा कम रहेको पाइएको छ ।
प्रमुख श्रम गन्तव्य मलेशियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५÷७६ मा मलेशियाबाट प्राप्त विप्रषेण पनि घटेको राष्ट्र बैंकको भनाइ । मलेशियासँग द्विपक्षीय सम्झौता पश्चात् आगामी दिनमा मलेशिया जानेको संख्या बढेमा त्यहाँबाट प्राप्त विप्रेषणमा वृद्धि हुने राष्ट्र बैंंकको अनुमान छ । तर, इरान र अमेरिका बीचको तनावले विप्रेषण आप्रवाहमा ह्रास आउने सक्ने राष्ट्र बैंकका उक अधिकारीले बताए ।
यस्तै, पछिल्लो समय भारतदेखि आउने विप्रेषण भने बढ्दै गएको छ । त्यहाँ भएका नेपालीले औपचारिक माध्यमबाट पैसा पढाउन थालेपछि यस्तो देखिएको हो । राष्ट्र बैंकको एक अध्ययनले भारतमा रहेका कामदारले ७० प्रतिशत औपचारिक र ३० प्रतिशत रकम आफै बोकर आउने गर्छन । तथ्यांकमा त्यसरी अनौपचारिक रुपमा आउने पैसा पनि जोडेपछि भारतदेखि आउने विप्रेषण बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।
कुन देशबाट कति रेमिट्यान्स भित्रियो
प्रतिक्रिया