अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल भन्सार महसुल दर घटाउन नसकिने बरु ‘पेपरलेस’ –कागजबिहीन) बनाउन सकिने बताएका छन् ।
७८औं भन्सार दिवसका अवसरमा व्यवसायीले भन्सार महसुल र भन्सारमा हुने झन्झटिलो प्रकृया सुधार हुनुपर्ने कुरा उठाएपछि अर्थमन्त्री खतिवडाले भन्सार महसुल तत्काल घटन नसक्ने बताएका हुन् ।
भन्सार प्रकृया सुधारका लागि भने सरकार लागिरहेकोले २ वर्षभित्र पेपरलेस बनाउने तयारी भएको उनको भनाई छ । ‘आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने तयारी भैरहेको छ’, मन्त्री खतिवडाले भने ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले भन्सारमा सामानहरुको वर्गीकरण र मूल्याङ्कनमा समस्या रहेको गुनासो गरेकी थिइन् । त्यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतीशकुमार मोरले ‘बल्क’ कार्गो आयातमा देखिएको समस्या निराकरण गर्न आग्रह गरे भने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई व्यवसायीमैत्री बनाउन र कारोवार बैंकिङ प्रणालीमा हुने वातावरण बनाउन सुझाव दिएका थिए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व सङ्कलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताए ।
भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उनले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राखे ।
हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तरराष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको तथ्याङ्क छ ।
प्रतिक्रिया