सरकारले बनाउने भयो पाँच स्थानमा एकीकृत बस्ती(कुन जिल्लाको कुन ठाँउमा विवरणसहित)

७ बर्ष अगाडि

काठमाडौँ । भूकम्प गएको करिब साढे तीन वर्षपछि बल्ल् एकीकृत बस्ती निर्माणका लागि प्रारम्भिक काम सुरु भएको छ ।

भूकम्प गए लगत्तै एकीकृत बस्ती बनाएर प्रभावितलाई सबै प्रकारको सेवा तथा सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको भएपनि कुनै पनि वर्ष कार्यान्वयनमा आउन सकेको थिएन ।

देशभर करिब ५०० बस्ती अझै पनि जोमिममा रहेका छन् । तिनीहरुलाई अन्यत्रै सारेर एकीकृत बस्ती निर्माण गर्ने योजना बनाइइयो ।

भूकम्पका लागि आएका दाताहरुले समेत त्यही भने । अरु निकायले पनि त्यसैमा हो मा हो मिलाए । तर काम भने कहिल्यै प्रभावकारी रुपमा  हुन सकेन ।

गृह मन्त्रालय र प्राधिकरणले भूकम्पले असाध्यै बढी प्रभाव पारेको उपत्यकाका चीन जिल्ला बाहेक ११ जिल्लाको स्थलगत अनुगमन समेत गरे । यस्तै कम प्रभावित भएका अन्य ३१ जिल्लाको पनि अध्ययन भ्रमण र अनुगमन गर्न कही कतै पनि छाडेनन् । किनकी त्यसमा राम्रै भक्ता र सेवा तथा सुविाको प्रबन्ध गरिएको थियो ।

भूकम्प पीडितको घर तथा आवास बन्न सक्ने रकम अनावश्यक रुपमा खर्च भो र गरियो । तर एकीकृत बस्ती निर्माणको विषय अगाडि बढ्न सकेन ।

एकीकृत बस्ती निर्माण गरेर त्यसैमा सबै प्रकारको सेवा तथा सुविका उपलब्ध गराउने सरकारको योजना केवल योजनामा सिमित भयो, त्यसले कुनै प्रतिफल दिन सकेन ।

पछिल्लो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली कार्यकारी समितिको बैठकले तीन जिल्लाका पाँच ठाउँमा एकिकृत बस्ती बसाउने निर्णय गरेको जानकारी दिए ।

पहिलो एकिकृत बस्ती सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङमा निर्माण गर्ने प्राधिकरणको योजना छ ।

 सो एकीकृत बस्ती विकास योजनामा ४० घरधुरी सहभागी गराउने सरकारको तयारी छ ।

प्राधिकरणकाअनुसार दोश्रो एकिकृत बस्ती पनि सिन्धुपाल्चोक कै मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङमा निर्माण गरिनेछ ।  सो बस्तीमा ७० घरधुरी राख्ने प्राधिकरणको योजना छ ।

यस्तै सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथलीमा तेश्रो एकीकृत नमूना निर्माण गर्ने तयारी गरिएको छ ।

सो बस्तीमा मात्रै १० घरधुरी राख्ने तयारी गरिएको छ ।

त्यस्तै प्राधिकरणले चोथो एकीकृत बस्तीका रुपमा रामेछापको मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरमा निर्माण गर्ने तयारी गरिएको छ । त्यसमा २४ परिवार राखिनेछ ।

पाँचौ बस्तीको रुपमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण हुनेछ । त्यहाँ ३७ घरधुरी रहने प्राधिकरणको अध्ययनमा उल्लेख छ ।

प्राधिकरण मातहत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

यस्तै  केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ कर्मचारी समेत खटाइने ज्ञवालीले बताए ।

आगामी दिनमा रसुवाको हाकु, नुवाकोटमो किस्पाङ, धादिङको तिल्प्लिङ, रिमा समेत एकीकृत बस्ती निर्माणमा लागि पहल गरिने भएको छ । यस्तै धादिङको सेतुङ, गोरखाका चार अन्य बस्ती समेत एकीकृत रुपमा निर्माण गर्ने योजना छ ।

ती एकीकृत बस्तीमा विद्युत्, स्वासथ्य सेवा , शिक्षाको समेत उचित प्रबन्ध गर्ने तयारी छ । तर त्यसका लागि आवश्यक पर्ने खर्च भने कुन निकायबाट कसरी जुटाउने भन्नेमा प्राधिकरणले केही जानकारी दिएको छैन । एकीकृत बस्ती निर्माणका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्दछ । 

७ बर्ष अगाडि

प्रतिक्रिया