देवघाटधाममा  आध्यात्मिक महासम्मेलन चैत–वैशाखमा

६ बर्ष अगाडि

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै देवघाटधाममा सात दिवसीय बृहत् आध्यात्मिक महासम्मेलन हुने भएको छ । आगामी चैत ३१ देखि वैशाख ७ गतेसम्म महासम्मेलन हुनेछ । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार महासम्मेलनको संयोजकका रुपमा रहिदिन वाग्मती प्रदेशका प्रमुख डोरमणि पौडेललाई आग्रह गरिएको छ । 

वाग्मती प्रदेश र गण्डकी प्रदेशको अगुवाइ र सङ्घीय सरकारको अभिभावकत्वमा अन्तर्राष्ट्रियस्तरको महासम्मेलन गर्न लागिएको हो । 

महासम्मेलनमा भारतका विभिन्न धामका शङ्कराचार्यहरुसहित धार्मिक पीठाधीश तथा गुरुहरुको उपस्थिति रहनेछ । यसैगरी विश्वभरबाट हिन्दू धर्मका ठूला विद्वान्हरुको समेत उपस्थिति रहनेछ । 

कार्यक्रम सम्पन्न गर्न सङ्घीय सरकारले रु एक करोड र नपुग तीन करोड हाराहारी दुई प्रदेश र यहाँका स्थानीय तहहरुबाट सङ्कलन गर्ने तयारी गरिएको पौडेलले जानकारी दिएका छन ।

 उनले भने, “देवघाटधामको महिमालाई विश्वसामु चिनाउन महासम्मेलन सफल हुने विश्वास लिएका छौँ ।”

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार महासम्मेलनमा नेपालका एक सयभन्दा बढी तीर्थस्थलका धार्मिक कक्ष रहनेछन् । ती कक्षबाट धार्मिकस्थलबारे जानकारी लिन सकिनेछ ।

 यसबाट देवघाटधामलाई धार्मिक दिग्दर्शन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

समस्त हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरुमध्ये आदिप्रयाग देवघाटधाम भएको विद्वानहरुले बताएका छन् । 

प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिर र चक्रव्रतीशिला, सिद्धबाबा गलेश्वर ब्रह्मचारिद्वारा स्थापित आश्रम र वेदवेदाङ्ग विद्यालय यहाँ रहेका छन् । 

शिव भगवान्को त्रिशूलबाट बगेको नदी त्रिशूली र शालिग्राम ढुङ्गा पाइने एकमात्र नदी कालीगण्डकीको सङ्गमस्थल रहेको यस धाममा भगवान् पनि स्नान गर्न आउने गरेको विश्वास छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया