काष्ठमण्डप पुनः निर्माणका लागि कामपाको ५  करोड सहयोग

६ बर्ष अगाडि

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप रु ५ करोड  प्रदान गरेको छ ।  कामपा प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेश शाक्य नेतृत्वको समिति र कामपाबीच सहमति भएपछि गत वर्ष जेठ २९ गते काम थालनी गर्न कामपाले रु ५० लाख र त्यसै वर्ष असोज २७ गते थप रु ५ करोड उपलब्ध गराइसकेको थियो । 

रकम हस्तान्तरण गर्दै कामपा प्रमुख शाक्यले गोरखा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सकिने बताए ।

ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको हो भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका वडाध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिनुभयो । 

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको बताए ।  यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

 काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण जिम्मेवारी भएको हुँदा महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल र  अन्तक्र्रिया गरी प्राप्त रायसुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको छ । पुनःनिर्माणको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुखको अध्यक्षतामा   उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।  अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन  काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार  थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्ति्विहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकाले कामपाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माण सक्ने गरी  काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया