रेल चलाउन अन्तिम तयारी : विदेशी कर्मचारी राख्न सरकारकाे स्वीकृति

५ बर्ष अगाडि

सरकारले रेल चलाउन सक्ने जनशक्ति नेपालमा नभएमा विदेशी कर्मचारी राख्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको छ । 

जनकपुर–जयनगर–बर्दिबास रेलवे अन्तर्गत तयारी रहेको जनकपुर देखि जयनगरसम्म रेल सञ्चालनको लागि विदेशीलाई पनि नियुक्त गर्न सक्ने सैद्धान्तिक स्वीकृति दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । 

रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालबाट आपूर्ति हुन नसकेमा श्रम ऐन-२०७४ को दफा २२ बमोजिम २६ जनासम्म ल्याउन सकिने भन्दै विदेशी श्रमिक नियुक्ती गर्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको उनकाे भनाइ छ । 

भारतको जयनगर देखि जनकपुर सम्म ३५ किलाेमिटर  रेलमार्ग निर्माण भई सञ्चालनको अन्तिम तयारीमा छ । 

नेपालले भारतबाट रेलसमेत किनिसकेको र दुईवटा रेलमध्ये एउटा निर्माण भएर परिक्षणकाे क्रममा छ । 

तयार भएकाे रेल एक सातामा हिड्ने र हिडेको १५ दिनमा जनकपुर आइपुग्ने विभागका अधिकारीहरुको भनाइ छ।

त्यसैगरि रेलवे ट्रयाकमा बाढीले क्षति पुर्‍याएको खण्डमा धमाधम मर्मतको काम भइरहेको छ।

तर नेपालमा रेल चलाउने आवस्यक जनशक्ति नभएपछि मन्त्रीपरिषदको ६ माघको बैठकले विदेशीलाई समेत राख्नसक्ने निर्णय गरेको हो । 

रेल विभागका अनुसार नेपालमा तत्कालका लागि रेल चलाउने प्राविधिक नभएकाे कारण तत्कालका लागि भारतबाट दक्ष प्राविधिक ल्याउने तयारी छ। नेपाली प्राविधिक सक्षम भएपछि भने उनीहरूलाई फिर्ता पठाइनेछ। त्यसैले केही समयका लागि भारतबाट प्राविधिक ल्याउन लागिएको हो।

विभागलाई सरकारी स्वीकृतिले दक्ष कामदार ल्याउने प्रक्रियामा बाटो खुलेको छ।

भारतीय पक्षले कर्मचारी उपलब्ध गराउने प्रस्ताव तीन महिनाअघि विभागमा पठाइसकेको छ भने बाँकी आवश्यक कर्मचारी नेपालमै भर्ना गरिनेछ।

विभागले तत्कालै भारतबाट प्राविधिक ल्याउने र नेपालमा कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरू गर्ने तयारी छ।

विभागका अनुसार फागुनदेखि ब्राेडगेजकाे रेल चल्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया