शान्ति मिसनको आम्दानीको हिसाब सेनाले राम्रोसँग नराखेको खुलासा

७ बर्ष अगाडि

काठमाडाै‌ं-नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट प्राप्त शोधभर्नाबापतको रकमको हिसाब राम्रोसँग नराखेको खुलासा भएको छ । 
शान्ति मिसनमा खटिने फौजको मासिक तलबभत्ता तथा बन्दोबस्तीका सामान खरिदका लागि राष्ट्रसंघबाट प्राप्त शोधभर्नाको हिसाब गोलमाल गर्दा आम्दानी र खर्चको विवरण पारदर्शी नभएको हो । शान्ति मिसनअन्तर्गत पल्टनका रुपमा खटिने फौजको मासिक तलबबाट सेनाले सैनिक कल्याणकारी कोषमा कमान्डरको २ प्रतिशतदेखि फलोअर्स (परिचर)को २८ प्रतिशतसम्म रकम कटौती गर्दै आएको छ । स्टाफ अधिकृत, मिलिटरी अब्जर्भरलगायतबाट ५ प्रतिशत रकम असुल्दै आएको सेनाले यसबापत कति रकम जम्मा भयो भन्ने हिसाब सार्वजनिक गरेको छैन । 

१२ मुलुकका शान्ति मिसनमा सेनाले ५ हजार भन्दा बढी फौज खटाउँदै आएको छ । पल्टनमा जानेलाई राष्ट्रसंघले मासिक १ हजार ३ सय ३२ अमेरिकी डलर र स्टाफ अफिसर्स, मिलिटरी अब्जर्भर लगायतका पदमा जानेले ४ हजार डलरसम्म पारिश्रमिक पाउँछन् । मिसनमा जाने सेनाबाटै वार्षिक २ अर्बभन्दा बढी रकम कल्याण कोषमा जम्मा हुने गरेको छ । शान्ति सैनिकको तलब-भत्ता र बन्दोबस्तीका सामान किन्ने प्रयोजनका लागि हरेक वर्ष मिसनबाट ९ देखि १० अर्ब रुपैयाँ भित्र्याउँदै आएपनि कुन–कुन शीर्षकबाट कति आम्दानी र कति खर्च भयो भन्ने विवरण सेनाले बाहिर ल्याएको छैन ।
महालेखा परीक्षकको कार्यालयका अनुसार लेखापरीक्षणमा समेत पटक–पटक ताकेदा गर्दा पनि शान्ति मिसनको रकमबारे शीर्षकगत रुपमा सेनाले आम्दानी र खर्चको विवरण नदेखाएको हो ।  अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया