काठमाडौं– कम्पनी रजिस्ट्रार कार्यालयमा अद्यावविधक गर्नुपर्ने कातजात अद्यावधिक हुन नसक्दा साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने समयावधि एक महिना पर धकेलिएको छ ।
ती जलविद्युत् कम्पनीले यही माघको पहिलो साता आइपिओ जारी गर्ने तयारी गरेका थिए । नेपाल धितोपत्र बोर्डले समेत आइपिओ जारी गर्न स्वीकृति प्रदान गरिसकेको थियो ।
तर कम्पनीको लगानी संरचनाका विषयमा कम्पनी रजिस्टार कार्यालयलाई कागजात बुझाउन ढिला भएका कारण आएपिओ जारी गर्ने समय पर धकेलिएको हो ।
रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरलाकाअनुसार कम्पनी रजिस्टार कार्यालयलाई बुझाउनुपर्ने कागजातमा देखिएको प्रक्रियागत ढिलाइका कारण आइपिओ जारी गर्ने समय केही समय पर सरेको हो ।
उनले भने , ‘साधारणसभाबाट आइपिओ जारी गर्ने प्रस्ताव पारित गरिएको छ । धितोपत्र बोर्ड र कम्पनी रजिस्टार कार्यालयलाई आवश्यक कागजात बुझाइएको छ । केही बुझाउन बाँकी छ ।’ उनले आगामी फागुनको पहिलो साता आइपिओ जारी हुने बताए ।
आइपिओ जारी गर्नु भन्दा २१ दिन पहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्छ । त्यसको समेत तयारी भइरहेको छ । रसुवागढीले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई तोकेको छ ।
यस्तै सान्जेनको नागरिक लगानी कोष विक्री प्रबन्धक रहेको छ ।
दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई रु २ अर्ब ५१ करोड ८१ लाख बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ बिक्री गर्ने तयारी गरेको छ ।
रसुवागढीको कति आइपिओ
रसुवागढीले रु १ अर्ब ६४ करोड २१ लाख ४ हजार बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सिमित आइपिओ जारी गर्न लागेको छ । रसुवामा कम्पनीले १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ५५ प्रतिशत निर्माण सकिएको छ । आयोजनाका प्रमुख कोइरालाले आगामी दुई वर्षभित्र आयोजनाबाट बत्ती बाल्ने लक्ष्यका साथ काम भइरहेको बताए ।
सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
धितोपत्र बोर्डले साञ्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको थियो ।
साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । माथिल्लो साञ्जेनको काम करिब ७० प्रतिशत सकिएको छ भने तल्लो साञ्जेन ५५ प्रतिशत निर्माण सकिएको छ ।
सिमित आइपिओ जारी गरेपछि दुवै कम्पनीले स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपाली सर्वसाधारणलाई १५ प्रतिशत आइपिओ जारी गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया