विकासका लागि स्रोत पर्याप्त  छैन: अर्थमन्त्री खतिवडा

६ बर्ष अगाडि

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत प्रयाप्त नभएको बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्वष्ट पारे।

अर्थमन्त्री डा खतिवडा मुलुक सङ्घीयतामा गइसकेपछि तीन वटै सरकारको सेवा प्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिनेछ भने। उनले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सुधार हुने भन्दै वैदेशिक सहयोगसँगै नेपालमा प्रविधि, क्षमता र ज्ञानमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैदेशिक सहयोगले संविधान र सङ्घीयता कार्यान्वयनमा मद्दत पुग्ने विचार व्यक्त गरे। उनले सङ्घीयता कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय भइरहेको प्रकाश पार्दै स्वीजरल्याण्ड सरकारबाट प्राप्त भएको यो सहयोगले प्रदेशको विकासमा कोशे ढुङ्गा सावित हुने बताए।

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले सङ्घीयतालाई सफल बनाउन प्रदेश सरकार सफल हुनुपर्छ भन्दै नेपालको आर्थिक र सामाजिक विकासमा स्वीजरल्याण्ड सरकारले सहयोग गरिरहने कुरामा जोड दिए। चार वर्षका लागि स्वीजरल्याण्ड सरकारबाट प्रदेश नं १ का प्राप्त हुने रु एक अर्ब सहयोग कार्यक्रमको पत्रमा अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्वीजरल्याण्डका राजदूत क्याप्लरले हस्ताक्षर गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया