काठमाडौं-फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा सोमबार बिहान बबरमहलस्थित निवासमा मृत भेटिएका थिए । शवको प्रकृति र घरमा भेटिएका प्रमाणका आधारमा झाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले झाको हत्या नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
‘हाम्रो अनुसन्धानले अहिलेसम्म हत्या नै भएको देखाउँछ, थप अनुसन्धान भइरहेको छ,’ सिंहले भने, ‘हत्याराको पहिचान चाँडोभन्दा चाँडो गर्नका लागि अनुसन्धानका सबै पाटामा हामी लागिपरेका छौं ।’
प्रहरीले तीन जना शंकास्पद व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । झाको घाँटी र टाउकोमा सातपटक चक्कु प्रहार गरिएको छ । अनुसन्धानका लागि महाशाखाले झा निवासमा कार्यरत कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको छ ।
महनगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले पनि झाको हत्या नै भएको बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया