पाँचखालको तरकारी ‘सुरक्षित उत्पादन’

६ बर्ष अगाडि

पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसान सरस्वती दाहालले आफ्नो तरकारीबालीमा रासायनिक विषादी छर्न छोड्ने । 

जाडो याममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छर्ने गरेको उहाँ बताछन। 

“विषादी हाल्न छाडेको एक वर्षै भइसक्यो, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै हाल्ने गरेका छौँ, त्यो पनि प्राविधिकको सल्लाहमा” दाहालले भने । यो वर्ष काउली र गोलभेँडामा रासायनिक विषादी नहाली उत्पादन गरिएको उनले बताएका छन ।

 उनी भन्छ्न, “बालीमा समस्या आए, फोन गरेलगत्तै कृषि प्राविधिक आउछन र उनको सल्लाहमा मात्रै हामी विषादी छर्छौँ ।” विषादी प्रयोग गरेपछि प्राविधिकले दिएको समयअनुसार मात्रै तरकारी बजार लैजाने गरिएको उनले बताए । 

सोही वडाका शशीकला ढकालले पनि यो वर्ष काउली र आलु बालीमा रासायनिक विषादी हालेका छैनन । उनी भन्छन्, “यस वर्ष बालीमा विषादी छरेका छैनौँ, छर्नै परे प्राविधिकको सल्लाहमा छरेर टिप्ने समयपछि मात्रै बजार लैजान्छौँ ।”

पाँचखाल नपा–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गाना तथा पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ पनि रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गरेको बताउछन ।

“स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुनेगरेको छ”, ढुङ्गानाले भने । उनी आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्छन । 

श्रेष्ठले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी जैविक तरकारी सुरक्षित उत्पादन उत्पादन गरिहेका थिए । उनले ‘लव ग्रीन’ नेपालद्वारा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि आइपिएम कक्षामा जैविक विषादी बनाउन तथा गोठसुधार गरी पशुमुत्र सङ्कलन गरी बालीमा प्रयोग गरिरहेको बताएका थिए  ।

उक्त संस्थाले पाँचखालका २३ स्थानमा १८ महिने आइपिएम कक्षा सञ्चालन गरी जैविक विषादी प्रयोगबारे करीब सात सय किसानलाई तालीम दिइसकेको छ । 

पाँचखालका किसान आइपिएम कक्षामा सिकेर आफैँले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीबालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेका हुन् ।

पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नपा कृषि शाखाका कृषि प्राविधिक ईश्वर अधिकारीले बताए ।

“नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा पर्दछ” उहाँले भन्नुभयो । 

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख डा जनार्दन खड्का पाँचखालका किसानले रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकोमा वातावरण प्रदूषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने बताउछन । 

“किसानहरू पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफुहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा हुन, उनीहरुलाई हामीहरुले साथ दिएका छौँ”, उनले भने । 

खड्काले केन्द्रमा रहेको प्रयोगशाला रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपिआर ल्याबमा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा आग्रह गरेका छन ।

 केन्द्रमा गत भदौ महिनादेखि काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण गरिन्छ । डा खड्काले भने, “सङ्कलित नमुनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको छ ।” 

केन्द्रको परीक्षणबाट गत भदौ अन्तिमसाता तरकारीमा विषादीको रुकावट प्रतिशत ९इमिसन रेट० तीनदेखि नौ प्रतिशतसम्म झरेको थियो भने हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् ।

वाग्मती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ ले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टाइनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । 

वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेपलाञ्चोसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपिआर ल्याब स्थापना गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया