प्रहरी महानिरीक्षक खनालद्वारा घाइते प्रहरीसँग भेट

६ बर्ष अगाडि

माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज अस्पतालमा पुगेर भेट गरेका छन ।

खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेका हुन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा १४ जना घाइते प्रहरी उपचाररत रहेका छन् । उनीहरुको अवस्थाको बारेमा प्रत्यक्ष भेट गरी खनालले जानकारी लिएका थिए । 

सो क्रममा उनलेले उपचारमा संलग्न चिकित्सकसँग पनि भेट गर्नुभएको थियो । उनले उपचारमा कुनै कसर बाँकी नराखी काम गर्न अस्पतालका चिकित्सकलाई अनुरोध गर्नुभएको कोइरालाले जानकारी दिए ।  

कोइरालाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना उपचारपछि घर फर्किएका छन् ।

 पवित्र तीर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कंदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दासढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । 

सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँ तर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया