नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु.८ अर्ब बराबरको साधारण सेयर निस्कासन गर्ने भएको छ ।
बैंकले निस्कासन गर्न लागेको आठ करोड कित्ता साधारण सेयर हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हो ।
त्यसका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक श्री बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गरे ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी रु.२० अर्ब हुनेछ ।
सो बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ जेठ २५ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे २०७५ फागनु २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको हो । बैंकको केन्द्रीय कार्यालय काठमाडाैं महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रहेको छ ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना रहेको छ ।
प्रतिक्रिया