उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट समवेदना प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी गएका मन्त्री पुन त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।
मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरे । ।
त्यस अवसरमा मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच विगत ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
सुल्तान हाइतमले नेपालका सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद ज्ञापन गरे । उनले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया