म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना

६ बर्ष अगाडि

संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ ।  
 जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

टोलीले उक्त ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो पेयपदार्थलगायतका वस्तु फेला पारेको थियो ।

 पसलबाट उपभोग्य मिति समाप्त भएको वस्तु फेला परेको, कतिपय वस्तुको खरिद बिल नभएको र पसल नवीकरणसमेत नगरेकाले सञ्चालकलाई रु ५० हजार जरिवाना गर्नुका साथै २४ घण्टाभित्र पसल दर्ता गराउन निर्देशन दिइएको उनले बताए । 

 प्रमुख पौडेल नेतृत्वको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्त हित संरक्षण मञ्च र वडा प्रहरी कार्यालयका पदाधिकारीको सहभागिता थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया