पशुपतिनाथको शैलीमा अकलादेवी मन्दिर पुनःनिर्माण

६ बर्ष अगाडि

पशुपतिनाथ मन्दिरको शैलीमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिरको पुनःनिर्माण गरिएको छ । 

गत जेठ १८ गतेदेखि शुरु भएको मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

समितिको आन्तरिक कोषबाट रु ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिनुभयो । 

तीनतले मन्दिरमा बुधबारदेखि तामाको छानो छाउन शुरु गरिएको छ । घिमिरेका अनुसार तामाको छानो छाउनका लागि मात्रै रु १२ लाख लाग्नेछ । 

दश दिनभित्र छानो छाएर सकिने र त्यसपछि मन्दिरमा गजूर प्रतिस्थापन ढोका÷झ्यालमा टुँडाल एकैसाथ राख्ने योजना बनाइएको छ । 

 मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजनाबमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले बताए । 

मन्दिर पुनःनिर्माणका लागि समितिले केही समयअघि  आयोजना गरिएको महायज्ञमा करीब रु एक करोड सङ्कलन भएको थियो । 

मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटी गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । 

मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ । डिपीआर अनुसारको सबै संरचना निर्माणका लागि तीन वर्ष समयावधि लाग्ने अनुमान गरिएको छ । 

    “मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौं, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपीआरसमेत तयार भएको छ,” मगरले भने, “डिपीआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।” 

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ४० लाख र म्याग्दे गाउँपालिकाको रु आठ लाखको सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया