उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताएका छन ।
राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले आज जितगढी किल्लामा आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै उनले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको धारणा राखे ।
“यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो”, उनले भने, “हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छौ ।” रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताए ।
“यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरु म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ ।
तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ,” उनले भने । उहाँले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राखे । उनले खेलमा सहभागी र विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सीताराम खड्काले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रतिक्रिया