नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले २३ वर्षपछि शेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आज शुक्रबार नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न ६० औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाबाट पारित उक्त नगद लाभांश आजैदेखि शेयरधनीको खातामा पठाउन शुरु गरेको छ ।
साधारण सभामा बैंकका अध्यक्ष बासुदेव अधिकारीले डिम्याट खाता भएका शेयरधनीलाई सभा सकिएको २ घण्टाभित्र नगद लाभांश पठाउने व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार बोनस शेयर समेत चाँडै नै नेप्सेमा सूचीकरण गराई सम्बन्धित शेयरधनीहरुलाई बितरण गरिने जानकारी दिए।
साधारण सभाले बैंकको अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।
बोन सेयर वितरणपछि बैंकको हाल कायम रहेको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ बाट बढेर ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।
पछिल्लो समय बैंकले बैंकले स्प्रेड दर, बेस रेट लगायतका सूचकहरुमा समेत राम्रो सुधार गर्दै लगेको छ ।
नेपालको पहिलो बैंकको रुपमा वि. सं.१९९४ कार्तिक ३० गते नेपाल बैंकको स्थापना भएपछि नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो ।
१२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए ।
बैंक उदघाटनको सयमा तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरले धनि गरीब सबैलाई सेवा प्रदान गर्नु बैंकको उद्धेस्य रहेको बताएका थिए ।
स्थापनाको पहिलो वर्ष बैंकले रु १७ लाख २ हजार २५ निक्षेप संकलन गरेको थियो । जसमा चल्ती करिव रु. १२ लाख ९८ हजार ८ सय ९८, मुद्दती रु. ३ लाख ८८ हजार ९ सय ६४ तथा वचतमा रु. १४ हजार १ सय ६३ रहेको थियो ।
पहिलो वर्षमै १९ लाख ८५ हजार रुैयाँ कर्जा प्रवाह गरको थियो ।
शुरुवातमै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंकमा शुरुमा २५०० हकप्रद शेयरहरू मध्ये ४० प्रतिशत सरकारी र र ६० प्रतिशत निजी क्षेत्रको शेयरका लागि छुट्याईएको थियो ।
बैंक सञ्चालनको शुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए ।
शुरुमा राम्रो अबस्था रहेपछि बीचमा डुब्ने अबस्थामा पुगेको बैंकले २३ वर्षपछि लाभांस वितरण गरेपछि शेयरधनीहरु निकै खुसी भएका थिए ।
उनीहरुले खराव कर्जा असुलीमा ध्यान दिन व्यवस्थापनलाई सुझाव दिएका छन्। खराव व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश बितरण गर्न सकेको थिएन।
खराव कर्जा असुलीमा ध्यान दिए आगामी बर्षहरुमा बैंकले राम्रै लाभांश वितरण गर्न सक्ने शेयरधनीहरुको बिश्वास छ।
खुद ब्याज आम्दानी नघटनाउन र प्रतिशेयर आम्दानीमा समेत सुधार गर्न उनीहरुको सुझाव छ ।
तर राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउनुपर्ने निर्देशन दिएका कारण खुद ब्याज आम्दानी घटेको बैंकका अध्यक्ष अधिकारीको भनाइ छ।
उनले सेयर धनिको सुझाव अनुसार नै बैंकको व्यवस्थापन पक्षलाई थप सुधार गर्दै लैजाने विश्वास दिलाएका छन् ।
प्रतिक्रिया