जनप्रतिनिधिबीचको रस्साकस्सीले सम्सी गाउँपालिकाका सेवा प्रभावित भएका छन् ।
अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन् ।
अहिले गाउँ कार्यपालिकाको कार्यालयमा ताल्चा भुण्डिएको छ । घरधनी रामभरत रायले सहमतिअनुसार पछिल्ला छ महिनायताको घरभाडा नपाएको भन्दै गत बुधबार नै ताल्चा झुण्ड्याइदिएपछि कार्यालयबाट दिइने सेवा अवरुद्ध छ ।
गाउँपालिकाभित्रका चार माध्यमिक, तीन आधारभूत र तीन मदर्शा उर्दु भाषाको पठनपाठन हुने विद्यालय सहित १० विद्यालयका ६६ शिक्षक अहिले आन्दोलित भएका छन् ।
चालू आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखिकै तलब भत्ता नपाइएपछि आपूmहरु धर्नामा बस्नुपरेको नेपाल शिक्षक महासङ्घ गाउँपालिकाका अध्यक्ष रामबाबु यादव बताउछन । कार्यालय र विद्यालयसँगै गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवा पनि अस्तव्यस्त भएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले नयाँ चालु आर्थिक वर्ष प्रारम्भदेखिकै तलबभत्ता नपाएपछि काम गर्नसक्ने अवस्था नरहेको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका प्रमुख डा रविन मण्डलले बताए ।“हामीले यसबारे जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छौँ”, डा मण्डलले भने, “तर समस्याले निकास पाएको छैन ।”
गाउँपालिकामा लामो समयदेखि कार्यपालिकाको बैठक र गाउँसभा हुन नसक्दा कुनै योजना छानिने, आर्थिक व्यवस्थापन गरिने र कार्यालय सञ्चालनका काम व्यवस्थित हुनसकेका छैनन् ।
पछिल्लोपटक गत मङ्सिर १९ गते भएको गाउँसभा पनि विवादित भएपछि गाउँपालिका थप अस्तव्यस्त बनेको छ ।
विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा भारतीय सीमावर्ती यो गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार नै अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचित भएयता अध्यक्ष र उपाध्यक्षमा आ–आफ्नो आग्रहअनुसार काम गर्ने चाहनाले सबै गतिविधि अस्तव्यस्त भएका सर्वसाधारणको टिप्पणी छ । यता गाउँपालिकाका उपाध्यक्ष यादव आपूmले कुनै आग्रह÷पूर्वाग्रह नपालेको बताउछन ।
“अध्यक्षज्यूले लामो समयसम्म कार्यपालिका र गाउँसभा आयोजना गर्ने, छलफल गराउने तत्परता देखाउनु भएन, बल्लबल्ल गत मङ्सिर १९ गते गाउँसभा सम्पन्न भएको छ”, उपाध्यक्ष यादवले भने, “प्रक्रियासम्मत भएको गाउँसभा निर्णयलाई प्रमाणित गर्ने र कार्यान्वयन गर्ने तत्परता अध्यक्षज्यूमा अझै पलाएन ।”
जनताले सुशासनको आसले जिताएका आपूmसहितका प्रतिनिधिले केही गर्न नसक्दा मन पोल्ने गरेको उपाध्यक्ष यादवको भनाइ छ । अध्यक्ष शेष फारुख भने निर्वाचित प्रतिनिधि नै गुटबन्दीमा लाग्दा काम अघि बढ्न नसकेको बताउछन ।
आवश्यकता र औचित्यको पुष्ट्याँइबाट नभई मुडेबल पवृत्ति झाङ्गिँदै गएर समस्या बढेको उनको भनाइ छ ।गाउँपालिकाको समस्या निराकरणका लागि स्थानीय तहको राजनीतिक सम्मेलन डाकिनुपर्ने माग पनि बढेको छ ।
यसैबीच गाउँपालिकाको लोकतान्त्रिक विधि प्रक्रियाअनुसार निकास खोजिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला इञ्चार्ज राजु खड्का बताउछन । यसका लागि निर्वाचित जनप्रतिनिधि र स्थानीय राजनीतिक दलबीच संवाद र सहकार्यका लागि आपूmले पहलकदमी शुरु गरेको खड्काले बताए ।
प्रतिक्रिया