धेरैलाई लाग्न सक्छ डिजल, पेट्रोल, मट्टीतेल, ग्याँस र हवाइ इन्धनको मूल्य देशभरी एउटै छ ।
त्यसो होईन, नेपाल आयल निगमले देशका विभिन्न ठाउँमा इन्धनको मूल्य फरक फरक तोकेको छ ।
निगमका अनुसार सबैभन्दा सस्तो मूल्य झापाको चारआली, बिराटनगर, धनुषाको महेन्द्रनगर, विरगंज, अमलेखगञ्ज, भलवारी, नेपालगंज र धनगढीमा छ ।
यी स्थानहरुमा रहेका निगमका डिपोहरुमा निगमले तोकेको सबैभन्दा न्यूनतम मूल्यमा पेट्रोलियम पदार्थ किन्न सकिन्छ । त्यहाँ पेट्रोल प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल ९८ रुपैयाँ ५० पैसा छ।
त्यस्तै पोखरा र दाङ्गमा पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल ९९ रुपैयाँ ५० पैसा छ ।
थानकोट, सुर्खेत र दिपायलमा भने त्यो भन्दा धेरै महँगो छ । ति ठाउँहरुमा पेट्रोल प्रतिलिटर १ सय ११रुपैयाँ, डिजल र मट्टितेल १ सय रुपैयाँ छ ।
त्यस्तै एलपी ग्याँसको मूल्य पश्चिम तराईमा सबैभन्दा सस्तो अर्थात १ हजार ३ सय १५, तराईका अन्य जिल्लामा १ हजार ३ सय ३० र काठमाडौं लगायतका पहाडी जिल्लामा १३ सय ५० रुपैयाँ छ ।
‘यो अधिकतम खुद्रा बिक्री मूल्य हो’, निगमको एलपीजी तथा एभिएशन विभागका निर्देशक दिपक बराल भन्छन् ।
हवाई इन्धन (ड्युटी फ्रि), हवाइ इन्धन जेट भने सबै डिपोहरुमा बराबर छ । हवाई इन्धन (ड्युटी फ्रि) प्रति किलोलिटर १ हजार अमेरिकी डलर, हवाइ इन्धन जेट ९४ रुपैयाँ ५० पैसा छ ।
किन फरक छ ?
नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थ भित्र्याउने एकमात्र आधिकारी निकाय हो ।
निगमका अनुसार भारतबाट ढुवानीको दुरीको आधारमा देशभरीको मूल्य फरक फरक राखिएको छ । तराई, पहाड र काठमाडौंको मूल्य फरक फरक रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
‘यो फरक मूल्य आजको होइन जमाना देखिको ढुवानीको दुरीको आधारमा हामीले निर्धारण गरेका हौँ’, उनले भने ।
निगमले तोकेकै मूल्यमा बेच्छन बिक्रेताहरु ?
डिजल, पेट्रोल र मट्टिलेतको हकमा निगमको डिपो देखि १५ किलोमिटर दुरीभित्रका विक्रेताले तोकिएकै मूल्य अनिवार्य लागू गर्नु पर्छ । अर्थात् तोकिएका स्थानदेखि १५ किलोमिटर भित्रका पेट्रोल पम्प र ग्याँस विक्रेताहरुले तोकिएकै मूल्यमा बिक्री गर्नुपर्छ।
तर निगमको डिपोबाट १५ किलोमिटर भन्दा टाढा ढुवानी गर्नुपरेमा भने बिक्रेताले ढुवानी खर्च जोड्न पाउँछन् ।
सोही अनुसार बिक्रेताहरुले इन्धन विक्री गर्छन् । त्यसका लागि पनि निगमले मूल्य निर्धारण गरेको छ । ‘तर सो भन्दा धेरै मूल्य लिएमको जानकारी पाएमा निगमले कार्वाही गर्छ’, प्रवक्ता गोइतले भने ।
तर एलपी ग्याँसको हकमा भने फरक छ । एलपी ग्याँसको तोकिएको मूल्य भन्दा एक रुपैयाँ पनि बढी लिन पाउँदैनन । निगमले विक्रेताको लागि ग्याँस ढुवानीको लागि क्रिेतालाई आबस्यक पर्ने शुल्क समेत जोडेर यो मूल्य निर्धारण गरेको हो ।
‘१ हजार ३ सय १५, तराईका अन्य जिल्लामा १ हजार ३ सय ३० र काठमाडौं लगायतका पहाडी जिल्लामा १३ सय ५० रुपैयाँ अधिकतम खुद्रा विक्री मूल्य हो’, निर्देशक बराल भन्छन् ‘यो भन्दा धेरै शुल्क लिएमा कार्वाही हुन्छ ।’

प्रतिक्रिया