ठोस कार्ययोजना बनाएर अघि बढ्छौंः नवनियुक्त सिइओ ज्ञवाली

७ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्ययोजना बनाएर पूर्वनिर्धारित समयमै पुनिर्निर्माणको काम सम्पन्न गर्ने बताउनु भएको छ । पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने बताउनु भएको हो । 
शुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरु अहोरात्र खटेको स्मरण गर्दै सिइओ ज्ञवालीले भन्नुभयो, “विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरुलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने छौं ।”
उहाँले स्थानीय तहमार्फत् जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व बर्ष बनाउने भयो । 
कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए । 
२०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया