मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप्ता र चितवनको राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापामगर रहेका छन् ।
बुधबार मनहरितर्फबाट हेटौँडातर्फ आउँदै गरेको बिआर ०१सिएम ६२४६ नंको भारतीय कारलाई रोकी जाँच गर्दा लुकाइछिपाई ल्याएको १० किलो १८० ग्राम गाँजा फेला परेपछि कार चालक रञ्जित र कारमा सवार बालकृष्णलाई कारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै मकवानपुर प्रहरीले बुधबार नै हेटौँडा–१५ ड्राइभरडाँडातर्फबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नंको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापाले बोकेको झोलामा लुकाइछिपाई ल्याएको पाँच किलो गाँजा फेला परेपछि निज मोटरसाइकल र गाँजासहित पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया