अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान

६ बर्ष अगाडि

राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो ।
 
परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताए।  “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहयोग पुग्ने हुँदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा स्वेच्छाले आफूले सकेको सहयोग गर्न सक्नुहुने छ”, उनले भने।

गरिब, अनाथ र विपन्न परिवारका सदस्य, विभिन्न दुर्घटनामा परी जीवनमरणको दोसाधमा बाँचेका नागरिक, ज्येष्ठ नागरिक, सहाराविहीन व्यक्तिका लागि सहयोग गर्ने उद्देश्यले मुठ्ठीदान अभियान चलाएको उनको भनाइ छ । तीन सय ६५ दिनमा दैनिक रु एक परोपकारका लागि रकम सङ्कलन गरियो भने पनि त्यस रकमले अरुको जीवनमा ठूलो राहत मिल्ने महासङ्घका सल्लाहकार सागरप्रसाद देवकोटा बताए ।

“सानो रकमले पनि अरुको जीवनमा खुशी दिन सकियो भने यहीँ नै जीवनको पुण्यकर्म हो, सके धेरै नसके दिनको एक रुपैयाँ परोपकार केन्द्रका लागि छुट्याउ, यस कार्यमा अन्य जिन्सी दान पनि सहयोग गर्न सकिन्छ”, उनले भने । मुठ्ठीदान अभियानमार्फत सङ्कलित रकम अत्यन्तै नाजुक अवस्थामा रहेका गरिव, विपन्न, अनाथ व्यक्ति तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सहयोग गर्ने महासङ्घले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया