नयाँ दिल्लीमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ ।
नेपाली दूतावास भएका मुलुकमा भ्रमण वर्षको उद्घाटनका लागि सरकारले तय गरेको जनवरी ७ तारिखका दिन दिल्लीमा पनि उद्घाटन गरिएको हो।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालयका नेपाल, भुटान डेस्क हेर्ने सहसचिव पियुष श्रीवास्तव, भारतीय पर्यटन मन्त्रालयकी महानिर्देशक मीनाक्षी शर्मा, भारतका लागि भुटानका राजदूत भेत्स्योप न्याम्ग्यालले संयुक्तरुपमा लोगो सार्वजानिक गरेर औपचारिक भ्रमण वर्षको उदघाटन गरे।
कार्यक्रममा नेपालका प्रमुख र संभाव्यता भएका पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो । राजदूत आचार्यले सम्बोधन गर्दै भारतीयलगायत विश्व समुदायका लागि नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै नेपाल भ्रमणका लागि आग्रह गरे।
नेपालको पर्यटकीय विशेषताबारे बताउँदै पहिलो पटक भ्रमण गर्नेले नेपाल बिर्सन नसक्ने बताए ।
'एकपटक नेपाल भ्रमण गर्ने व्यक्तिले पटकपटक नेपालको भ्रमण गर्ने चाहना राख्छ,' उनले भने।
राजदूतले गएको जनवरी १ तारिखमा नेपालमा गरिएको औपचारिक उदघाटन समारोहमा भारतीय पर्यटन राज्य मन्त्री प्रल्हाद पटेलको सहभागिता पछि उनले गरेको प्रचारबाट भारतीय थप उत्साहित भएको आफूले अनुभव गरेको बताए।
प्रतिक्रिया