मङ्सिरको अन्तिम र पुसको तेस्रो सातापछि आज परेको हिउँले रुकुम पूर्व मा कतै खुशियाली छाएको छ भने कतै जनजीवन कष्टकर बनेको छ ।
मङ्सिरको अन्तिममा परेको हिउँ बिलाउन नपाउँदै पुसको तेस्रो साता फेरि प¥यो । दुई दिन खुलेको आकाश र लागेको घामले मानिसहरुले न्यानो अनुभूति गर्न नपाउँदै पुनः तेस्रोपटक मङ्गलबार बिहान जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको छ ।
हिमपात र वर्षाले अत्यधिक चिसो बढेको र जमेको हिउँका कारण मानिसलाई दैनिक कामकाज गर्न मुस्किल परेको छ । गत बुधबार, बिहीबार र शुक्रबार लगातार हिमपात भयो ।हिमपातपछि माथिल्ला बस्तीमा मानिसले कतै हिउँ पन्छाउँदै काम गरिरहेका छन् त कतै सडक अवरुद्ध बनेका छन् ।
हिमपातले पुथाउत्तरगङ्गा गाउँपालिका र सिस्ने गाउँपालिका–१ वडा बढी प्रभावित भएका छन् । पुथाउत्तरगङ्गाको हुकाम, मैकोटलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेपछि मानिसलगायत पशुचौपायलाई समस्या भएको छ ।
चरन क्षेत्रमा जमेको हिउँ दुई–तीन महिनासम्म नपग्लिने हँुदा चरनको समस्या हुने भएको छ । सडकमा हिउँ जमेकाले मङ्सिर अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएको छैन ।
पटकपटक परेपछि सडकमा बाक्लो हिउँ जमेको प्रजिअ मोहनप्रसाद अर्यालले बताए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्व बाट बागलुङ, पोखरा हँुदै काठमाडाँ जानेहरु समस्यामा परेका छन् ।
दाङ, सल्यान, बुटवल हुँदै काठमाडौँ जाँदा धेरै समय लाग्छ । यात्रुले छोटो बाटोका रुपमा प्रयोग गर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व र बागलुङको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा हिउँ जमेकोले बाटो अवरुद्ध बनेको हो ।
डोजरले हिउँ पन्छाए पनि बाटो खुलाउन सम्भव नभएकाले अब हिउँ पग्लिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्यालले बताए । चिसोले कसैलाई हानी नहोस् भनेर विपन्नलाई न्यानो कपडा वितरण गर्न स्थानीय तहलाई आग्रह गरिएकोले न्यानो कपडा वितरण गरिहरहेको उनले बताए । पुथाउत्तरगङ्गा गाउँपालिका–१ का बासिन्दाले हिउँ पन्छाउँदै मैकोटमा निर्माण हुन लागेको ढोरपाटन सिकार आरक्षको चारकोठे भवन बनाउने काम गरिरहेका छन् ।
कूल ५२ लाख बजेटमा रोयल पुथा निर्माण सेवा प्रालिले भवन बनाउन लागेको हो । हिउँ पग्लन धेरै समय लाग्ने भएकाले छिटो काम सक्न मैकोटवासी हिउँ पन्छाएर सो भवन बनाउन जुटेको स्थानीय धनबहादुर कामीले बताए ।
उहाँले हिमपात भएपछि जिल्लामा बढेको चिसोको वास्ता नगरी दैनिक ढुङ्गा, माटो निकाल्ने, मैदान बनाउने लगायतका काम गरिरहनुभएको छ ।
आरक्षको कूल भूभागको ६० प्रतिशतभन्दा भूभाग र सिकार खेल्ने सातमध्ये चार ब्लक रुकुम पूर्व मा पर्छ । यति हुँदाहाँदै पनि आरक्षबाट कुनै फाइदा लिन नसकेका त्यस क्षेत्रका बासिन्दा आरक्षको कार्यालय भव बन्न थालेपछि खुशी भएका छन् ।कर्मचारी आरक्षमा बसेपछि स्थानीयवासीलाई फाइदा हुनाका साथै वनजङ्गल र वन्यजन्तुको संरक्षण हुने स्थानीयवासी वीरेन्द्र बुढामगरले बताए ।
उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरु खुशी छन् भने हिउँमा रमाउँदै फोटो खिच्ने, रमाउने काममा युवाहरु मस्त छन् । वर्षामात्र भएको क्षेत्रका मानिसहरु हिउँ खेल्न हूलै बाधेर माथिल्लो क्षेत्रमा पुगेका छन् ।विभिन्न कार्यालयका कर्मचारी लगायतको टोली पनि हिउँ खेल्न पुथाउत्तरगङ्गा र बागलुङको सिमाना पातिहाल्ने पुगेका छन् ।
सिँचाइ अभावका कारण ओइलाउन थालेको खेती वर्षा र हिमपातपछि राम्रो हुने सिस्ने गाउँपालिका–५ का कृषक वसन्त बस्नेतले बताए । उहाँ जस्तै भूमे गाउँपालिका–६ महतका सबिना बुढा आगामी दिनमा असिना परेन भने यसपालिको हिमपातसँगैको वर्षाले उत्पादनमा बढ्नेमा ढुक्क हुन्छन।
प्रतिक्रिया