प्राचीनकालमा नेपालमा लेखिएका कम्तीमा १०० भन्दा बढी ग्रन्थ विश्व सम्पदाको ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता हुनसक्ने स्तरका भए पनि पहल हुन नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।
राष्ट्रिय अभिलेखालयले सोमबार यहाँ आयोजना गरेको ‘निश्वासतत्वसंहिता र प्राचीन शैव परम्परा’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन । नेपालका हालसम्म दुई ग्रन्थ ‘निश्वासतत्वसंहिता’ र ‘सुश्रुतसंहिता’ मात्र ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता भएको छ ।
यी दुई ग्रन्थ पनि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को को पहलमा दर्ता हुनसकेको अभिलेखालयका पूर्वप्रमुख प्रकाश दर्नालले अन्तक्र्रियामा सुनाए । सन् २०१३ जुनमा दुवै ग्रन्थ एकैपटक विश्व सम्पदामा दर्ता भएको अभिलेखालयले जनाएको छ ।
कार्यक्रममा ‘निश्वासतत्वसंहिता’ लाई ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता गराउन लाग्नुभएका डा निराजन काफ्लेले नेपालमा प्राचीनकालमा लेखिएको मूलप्रतिको रामायण, महाभारतलगायत कम्तीमा पनि १०० भन्दा बढी ग्रन्थ दर्ता हुनसक्ने खालका भए पनि कसैले पहल नगरेको जानकारी गराए ।
‘निश्वासतत्वसंहिता’ मै आधारित भएर ‘निश्वासमुखको समीक्षात्मक र ऐतिहासिक अध्ययन’ विषयमा नेदरल्यान्डको युनिभर्सिटी अफ लाइडेनबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएका उनले नेपालमा रचना भई हाल अभिलेखालयमा सुरक्षित रहेका यी ग्रन्थलाई ‘मेमोरी अफ वल्र्ड रजिष्टर’ मा दर्ता गराउन लाग्नुपर्ने बताए ।
सो अवसरमा अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्ग र शाखाप्रमुख कुमार श्रेष्ठले विसं २०७१ पछि सर्वोच्च अदालतलाई अभिलेखालयका ऐतिहासिक एवं पुरातात्विक सामग्री राखिएको भवन छोड्न पत्राचार गरिरहेकाले आतङ्कित भई अन्य काममा ध्यान दिन नसकिएको बताए ।विसं २०७१ मा मन्त्रिपरिषद्ले निर्णय गरी अभिलेखालयको भवन सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया