सडक सुरक्षाका लागि पुर्वाधार निर्माण

६ बर्ष अगाडि

पूर्वाधारमा पनि सबैभन्दा बढी प्राथमिकतामा परेको छ, सडक निर्माण । तर भएका सडक संरचना व्यवस्थित नभएका कारण देशमा दिन–प्रतिदिन दुर्घटना बढ्दै गएका छन् । 

सडक र यातायात प्रणालीको व्यवस्थापन आजको मुख्य चुनौती बनेको छ । यसको समाधानका लागि सरकारले सुरक्षित सडक निर्माणमा जोड दिदैँ आएको छ । 

सुर्खेत–जुम्ला सडक, पृथ्बी राजमार्गका विभिन्न स्थानका सडक, बैतडी, दार्चुलालगायतका जिल्लाका सडक छेउमा बार लगाउने काम भइरहेको छ । 

यस्तै  कुलेखानी–भीमफेदी, थानकोट नौबिसे सडक, बैतडी र अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा सडकमा मोड साँघुरा थिए ।

 विपरीत दिशाबाट आएका सवारीसाधन आपसमा ठोकिँदा दुर्घटना हुने भन्दै सडक विभागले साँघुरा मोड भएका ठाउँमा त्यसलाई फराकिलो बनाउने काम अहिले गरिरहेको छ । 

अरनिको राजमार्गलगायतका विभिन्न जिल्लाका सडकमा ऐना राख्ने काम भइरहेको छ । 

सडक दुर्घटनाबाट वर्षेनी झण्डै तीन हजार जनाको मृत्यु हुने गरेकामा त्यो कम गर्न सडक विभागले सडक सुरक्षाका लागि पूर्वाधार निर्माण थालेको छ । 

दुर्घटना कम गराउँदै जान सडकमा आवश्यक पूर्वाधार निर्माण भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। 

देशभरमा सडक दुर्घटना बढीरहँदा सडक विभागले सडकमा आवश्यक पूर्वाधार निर्माण शुरु गरेको हो । दुर्घटनाको जोखिम बढी भएका स्थानमा मोड सुधार गर्ने, सडक छेउमा बार लगाउनेलगायतका काम भइरहेको विभागले जनाएको छ ।

 सडक दुर्घटनाका मुख्य कारण मानवीय त्रुटी भए पनि सडकका कारणले पनि दुर्घटना हुने भनी सडक सुरक्षामा ध्यान दिइएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । 

यस वर्ष देशभरका विभिन्न सडकमा गरी झण्डै ७० किलोमिटर सडक छेउमा फलामको बार लगाइने उनको भनाइ छ । 

सडकको भौगोलिक अवस्थितिका आधारमा किनारामा सुरक्षाका लागि आवश्यक पूर्वाधारको निर्माण भइरहेको छ ।

 कतिपय स्थानमा पिलर मात्रै राख्दा हुने भए पनि कति ठाउँमा ढुङ्गाको त कतिपय सडकमा फलामको बार लगाउन थालिएको छ । 

उनले भने, “दुर्घटनाको जोखिम कम रहेका स्थानमा पिलर मात्रै हुँदा पनि हुन्छ भने दुर्घटना भइरहेका स्थानमा बार नै चाहिन्छ ।”

सडक किनारामा पहेँलो रङ्गको चिह्न लगाउँदा पनि सो चिह्न बाहिर केही भाग छोडिएको छ । सवारीसाधन पहेँलो धर्का छाड्नासाथ दुर्घटना नहोस् भनी केही स्थान धर्का बाहिर पनि छाडिएको उनले बताए । 

सडक सुरक्षाका लागि पूर्वाधार निर्माण भएका स्थानमा दुर्घटना कम भएको उहाँको दाबी छ । उनले भने, “हामीले पहिले बढी दुर्घटना हुने स्थानका रूपमा पहिचान गरेकामा अहिले दुर्घटना कम भएको पाइएको छ ।”

सडक दुर्घटना न्यूनीकरणकै लागि तीन वर्ष पहिले नेपाल सरकारले निर्माण गर्ने सबै सडक दुई लेनभन्दा कम नहुने निर्णय गरेको थियो । 

तीन वर्ष पहिले नै ठेक्का सम्झौता भएका बाहेक बाँकी सडक दुई लेन वा सोभन्दा बढी चौडाइको निर्माण भइरहेको छ । 

सडकमा निर्माण हुने पुल पनि दुई लेन वा सोभन्दा बढी चौडाइको निर्माण भइरहेको विभागका पुल महाशाखा प्रमुख दिपक भट्टराईले बताए । 

सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा नै सडकमा आवश्यक संरचना निर्माण समावेश हुने गरेको छ । सडक सुरक्षा प्रतिवेदन ९रोड सेफ्टी अडिट० गरेपछि मात्रै निर्माणको योजना अघि बढ्ने उहाँले बताउनुभयो ।

 कुनै पनि सडकमा दुर्घटना भएपछि त्यसमा सडकको कमजोरीका बारेमा बुझिने उनले बताए । कतिपय सडकमा पटक पटक दुर्घटना दोहोरिने गरेको छ । दुर्घटना दोहोरिनाको कारणबारे बुझेर आवश्यक सुधार गरिँदै आएको उनको भनाइ छ । 

यो आवको शुरुआतदेखि गत मङ्सिर १७ गतेसम्म छ हजार ९१२ सडक दुर्घटनामा ९३१ को मृत्यु भयो । सोही दुर्घटनामा एक हजार ९३३ जना गम्भीर घाइते र पाँच हजार ४५० सामान्य घाइते भएका थिए । 

यसअघि हवाई दुर्घटना हुँदा सरकारले चासो देखाए पनि सडक दुर्घटनामा बेवास्ता गर्ने आरोप लाग्ने गरेको थियो । गत महिना धेरै जनाको मृत्यु हुने गरी ठाउँठाउँमा दुर्घटना भएपछि प्रधानमन्त्री केपी ओलीले समेत सडक सुरक्षामा चासो देखाएका थिए ।

 उनले गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङलाई दुर्घटनाका बारेमा बुझ्दै न्यूनीकरणमा ध्यान दिन निर्देशन दिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत महिना नै सडक दुर्घटनाको अवस्था र न्यूनीकरणका उपायका बारेमा अध्ययन गर्न समिति गठन गरेको थियो । सो अध्ययनले ८० प्रतिशत दुर्घटना मानवीय कारणले भइरहेको देखाएको थियो । 


सवारी चालकको लापरवाही, ट्राफिक सचेतनाको अभाव, अत्यधिक गति, मादक पदार्थको सेवन, ओभरटेक गर्ने बानीका कारणले पनि दुर्घटनाका कारण भएको अध्ययनमा उल्लेख छ । सडकको दुरावस्था पनि दुर्घटनाको कारण बनिरहेको अध्ययनमा उल्लेख छ ।

स्थानीय तहले भौगोलिक÷इञ्जिनीयरिङ अध्ययन नगरी सडक निर्माण गर्नु, अत्यधिक र साँघुरा मोडहरु, स्थानीय सडकमा सडक चिह्न र सावधानीमूलक सङ्केतहरुको कमी, जीर्ण र खाल्डाखुल्डी भएका सडक पनि दुर्घटनाको कारण भएको पाइएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया