बैदेशिक व्यापारमा नेपालले ५७ मध्ये जम्मा १० प्रकारका वस्तुमा नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १० प्रकारका वस्तु आयात भन्दा निर्यात धेरै भएका कारण नाफा भएको हो।
अन्तराष्ट्रिय व्यापारमा सबैभन्दा धेरे नाफा गर्ने नेपाली वस्तु कार्पेट हो । कार्पेटमा नेपालले ३ अर्ब ५४ करोड ४४ लाख रुपैया नाफा लिन सफल भएको छ ।
नेपालबाट रु ३ अर्ब ३५ कराडे ६७ लाख बराबरको कार्पेट निर्यात भएको छ भने ३४ करोड ४१ लाख ३५ हजार कार्पेट आयात भएको छ ।
कार्पेट नेपालबाट अमेरीका, बेलायत, नेदरल्याण्ड, इटाली, फ्रान्स, जर्मनी लगायतका देशमा निर्यात हुने गरेको छ ।
त्यस्तै तयारी तरकारी, फलफूल तथा बोट विरुवाहरुको ब्यापारमा नेपालले ८३ करोड १८ लाख ४६ हजार नाफा कमाएको छ ।
नेपालले यो अवधिमा १ अर्ब ५७ करोड ४८ लाखको तरकारी र फलफूल निर्यात गरेको थियो भने ७४ करोड २९ लाख बराबरको आयात गरेको थियो ।
त्यस्तै, अस्तर, कपडाको कच्चापदार्थ, धागो , डोरी लगायतका साम्रागीमा नेपाललाई ७८ करोड ३० लाख १२ हजार नाफा भएको छ ।
१ अर्ब १९ करोड ९० लाख बराबरका त्यस्ता सामग्री निर्यात गरेको नेपालले आयात भने ४१ करोड ६० लाख बराबरको गरेको थियो ।
त्यस्तै तरकारीहरुको बीउ, विरुवा तथा अन्य तरकारीजन्य उत्पादनको ब्यापारमा नेपाललाई ५० करोड ५३ लाख ८८ हजार नाफा भएको छ ।
उक्त वस्तु १ अर्ब १९ करोडको निर्यात र १५ करोड २० लाख आयात भएको थियो ।
तयारी पोशाक, धागोजन्य पदार्थ, कपडाहरु लगायतका सामग्री १ अर्ब ४७ करोडको निर्यात ४१ करोड २५ लाख ३३ हजार नाफा भएको छ ।
त्यस्तै प्राचिन वस्तुहरुबाट निर्मित सामान र कलाका सामग्रीहरु निर्यातमा भएको व्यापारबाट नेपाललाई ३८ करोड ६५ लाख, मानव निर्मित फाइबर तथा धागोजन्य उपकरणहरुमा २९ करोड ४३ लाख, वाद्यवादनका सामग्री तथा उपकरणमा १० करोड, छालाजन्य पदार्थ ८ करोड ५२ लाख र लिडमा ५ करोड २४ लाख नाफा कमाएको छ ।
नेपालले यी १० प्रकारका वस्तुमा मात्र नाफा गरेपनि अन्य ४७ वस्तुमा भने घाटाको व्यापार छ । त्यसमध्ये सबैभन्दा धेरै घाटा खनिज तेल र त्यसबाट प्रशोधित उत्पादन विटुमिन लगायतमा छ । ति वस्तुमा नेपालले ८६ अर्ब १८ करोडको आयात गर्छ, जुन बस्तु नेपालबाट निर्यात हुँदैन ।
त्यस्तै दोश्रोमा बोइलर, मेसिनरी र मेकानिकल उपकरण तथा पाटपुर्जाहरुमा ४६ अर्ब ९४ करोड व्यापार घाटा छ । १६ करोड ९६ लाखको सामान नेपालबाट निर्यात हुँदा ४७ अर्ब ११ करोडको आयात हुन्छ ।
तेश्रोमा विद्युतिय उपकरण तथा रेकर्डर र टिभी तथा तिनका उपकरणमा ४५ अर्ब ७० करोड घाटा छ।
त्यस्तै फलाम र स्टिलमा ४३ अर्ब ७८ करोड, मोटरबाटो तथा रेलमार्ग निर्माण सामग्रीमा ४१ अर्ब ३३ करोड, प्लाष्टिकजन्य पदार्थमा २१ अर्ब ७७ करोड, अन्नपातमा २० अर्ब २० करोड, विमान तथा यसका उपकरणमा १४ अर्ब २६ करोड, प्राकृतिक मोती, बहुमूल्य पत्थर, पत्थरजडित धातुहरु र गरगहनामा १३ अर्ब ३५ करोड र औषधीजन्य पदार्थमा १२ अर्ब ३५ करोड व्यापार घाटा भएको छ ।
प्रतिक्रिया