पाल्पाको रामपुर नगरपालिकामा प्रदेश नम्बर ५ सरकारको पहलमा कुलो निर्माण भइरहेको छ ।
रामपुर – १० का अधिकांश फाँट क्षेत्र सिंचाइ गर्ने कुलो २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण भइरहेको हो ।बर्दलेफाँट सिंचाइ आयोजनाको विसं २०४९ मा निर्मित कुलो प्रदेश सरकारको आर्थिक तथा सिंचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण भइरहेको कुलो निर्माण उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिए ।
रामपुरको झ्याम्मखोलादेखि एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हँुदै बर्दलेसम्मको पाँच किलोमिटर पुनःनिर्माण भइरहेको अध्यक्ष खनालको भनाइ छ ।
गत जेठ २२ मा ठेक्का सम्झौता भएको कुलो गत असार पहिलो हप्तादेखि निर्माण थालिएको समितिले जनाएको छ ।
प्रदेशनम्बर ५ सरकारले रु। ४ करोड ९३ लाख सहयोग गरेपछि धमाधम निर्माणको काम भएको छ ।
प्रदेशसभा सदस्य युवराज खनालले रामपुर उपत्यका धेरै कृषि उपज उत्पादन हुने क्षेत्र भए पनि पानीको अभावले कृषकलाई समस्या परेकाले कुलो निर्माणमा सहयोग जुटाइएको जानकारी दिए ।
गेझाक्षेत्रको १०५ हेक्टर जमीनमा सिंचाइ गर्ने कुलो निर्माण आगामी वैशाखमा सम्पन्न गर्ने योजना रहेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष खनालको भनाइ छ ।
राहुडाँडा, एक्लाचौर, मनभागा, सानो गेझा, ठूलोगेझा, गोकर्णे र बर्दलेका फाँटका खेत सिंचाइ गर्ने कुलो निर्माण भइरहँदा कृषक खुशी छन् ।
हिउँद तथा वर्षात्मा पटक पटक पहिरो गएर धान रोप्न तथा विभिन्न तरकारी बाली लगाउन र सिंचाइ गर्न समस्या भोग्दै आएका कृषकलाई अब भने सहज हुने वडाध्यक्ष लीलबहादुर गाहाको धारणा छ ।
प्रतिक्रिया