गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाली मिडिया गोयबल्स मान्यताबाट अग्रसर हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल मिडिया काउन्सिल सम्बन्धि कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विधायन तथा प्रदेश मामिला समिति र नेपाल कानून समाजले पोखरामा गरेको संवाद कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रमा मिडियाको भूमिका ऐतिहासिक रहेको बताए ।
उनलेले आगामी दिनमा पनि मिडिया जवाफदेही र उत्तरदायी भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली समाजमा अराजकता र निराशा बढेको उल्लेख गर्दै सभामुख अधिकारीले तत्कालको खुशी भन्दा दीर्घकालीन समाधानका लागि मिडियाले सकारात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।
मिडिया काउन्सिल विधेयकमा देखिएका कमजोरीलाई सरोकारवालाबीचको छलफल र संवादका माध्यमबाट संशोधन गर्न सकिने उनले बताए । उनले कानूनको पालना गराउन पनि दण्ड सजाय आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले मिडिया काउन्सिल विधेयकका बारेमा प्रस्तुति राखेका थिए । समूहगत छलफलमार्फत सहभागीले विधेयकको प्रस्तावना, गठन प्रक्रिया, काम कर्तव्य अधिकार र पेशागत मर्यादा कायम राख्न आवश्यक योग्यतालगायत विधेयकलाई समृद्ध बनाउन सुझाव दिए ।
राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सुझावलाई एकीकृत गरेर निष्कर्ष निकालिने बताए । अर्का राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौैडेल, नागरिक सम्वाद केन्द्र पोखराका प्रमुख जुनाकुमारी गुरुङले विधेयकमाथि संवाद कार्यक्रमको औचित्य र महत्वका विषयमा धारणा राख्दै सहभागीलाई सुझाव दिन आग्रह गरेका थिए ।
गण्डकी प्रदेशका विधायन तथा प्रदेश मामिला समितिका सभापति मोहनप्रसाद रेग्मीले संविधानसँग नबाँझिएर कानुन बनोस् भन्नेतर्फ सतर्क हुनुपर्नेमा जोड दिए । उनले संवादले विधेयकमा भएका कमजोरीलाई हटाइनेमा विश्वास दिलाए ।
प्रतिक्रिया