सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र भिजिविलिटी कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा केहि समस्या भएको छ । यन्त्रको सहायताबाट विमानचालकले हेर्ने दृश्य अर्थात् इन्टुमेन्ट फ्लाइट रुल्स९आइएफआर० प्रविधिको सहायताले आन्तरिक र अन्तरराष्ट्रिय उडान भइरहेको छ ।
आन्तरिक उडान खासगरी पहाडी क्षेत्रको प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको तथा पहाडी क्षेत्रमा पनि जहाजले उचाइ लिन नसक्ने भएका कारण उडान प्रभावित भएको उनले बताए।
विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० तथा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बद्ली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन निकालेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको जनाएको छ ।
वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया