हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ ।
विद्यालयले तीनवर्षे ‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ को कक्षा सञ्चालनका लागि तीन तले भवनको प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन ।
प्रत्येक तलामा नौ वटा कोठा हुने र सम्पूर्ण निर्माण सम्पन्न गर्न करीब रु छ करोड लाग्ने भए पनि यो वर्ष भवनको पहिलो तलामात्र निर्माण गरिने विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालले जानकारी दिए ।
“विद्यालयको ६० लाख र बाँकी अन्य स्रोत जुटाएर यो वर्ष एक तलाको निर्माण सम्पन्न गर्ने योजना छ”, उनले भने । भवनको प्राविधिक मूल्याङ्कन र सम्पूर्ण डिजाइनसमेत विद्यालयकै इञ्जिनीयरले गरेको र पहिलो तलाका लागि रु एक करोड ७० लाख लाग्ने अनुमान गरिएको विद्यालयका सिविल इञ्जिनीयर विभागका प्रशिक्षक तथा इञ्जिनीयर मनिष महर्जनले जानकारी दिए ।
सो अवसरमा खतिवडाले भुटनदेवी माध्यामिक विद्यालयले जिल्लाका लागि मात्र नभएर देशकै शैक्षिक क्षेत्रमा योगदान दिएको बताएका छन ।
हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले शिलान्यास गर्नुभन्दा पनि काम सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै गुणस्तरीय काम गराएर बेलैमा काम सम्पन्न गराउन लाग्नुपर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालले भवन अभावका कारण सोचेजति विद्यार्थीलाई भर्ना गर्न नसकिएको बताए ।
विद्यालयमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा यसबाहेक पुनःनिर्माण प्राधिकरणअन्तर्गत रु छ करोडको लागतमा अर्को भवन निर्माण कार्य पनि भइरहेको जनाइएको छ ।
आगामी माघ महिनासम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि काम सोचेअनुसार अगाडि नबढेको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया