धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित समितिले तीन उम्मेदवार नाम सरकारसमक्ष सिफारीस गरेको छ ।
यसअघि सर्टलिष्टमा परेको ५ जनामध्ये कार्यपत्र प्रस्तुती र अन्तर्वार्ताको आधारमा हिँजो समितिले अन्तिम तीन जनाको नाम सिफारीस गरेको हो ।समितिले अर्थ मन्त्रालयसमक्ष भीष्मराज ढुंगाना, नीरज गिरी र डा। केशव प्रसाद श्रेष्ठको अन्तिम नामावली सिफारिस गरिएको जनाएको छ ।
गत मंसिरमा अध्यक्ष नियुक्त गर्न गठित समितिले नयाँ मापदण्ड सहित अध्यक्षको लागि आवेदन माग गरेपछि अध्यक्ष बन्न ८ उम्मेदवारले आवेदन दिएका थिए । ८ जना मध्ये गत शुक्रबार समितिले ५ जनाको नाम सर्टलिष्टमा छनौट गरी कार्य पत्र प्रस्तुती र अन्तर्वार्ता लिएको थियो ।
अब समितिले अर्थ मन्त्रालय समक्ष सिफरिस गरेको उमेद्वारको नाम अर्थले मन्त्रीपरिषद्मा लगेपछि मात्र नयाँ अध्यक्ष नियुक्ति हुनेछन् ।
सरकारले विगत तीन महिना देखी नेतृत्वबिहीन रहेको बोर्डको दैनिक कार्य सञ्चालन भने कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई जिम्मेवारी दिँदै नयाँ अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
कसले मार्ला त बाजी ?
धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न बनेको समितिले अन्तिम तिन उमेद्वारको नाम सिफरिस गरेसँगै नेतृत्वको जिम्मेवारी कसले पाउला भन्ने चर्चा शुरु भएको छ ।
अध्यक्ष पदका लागि सिफरिस भएका तीन नाम मध्ये प्रमुख दाबेदारका रुपमा भीष्मराज ढुंगानाको नाम छ। श्रोतका अनुसार हाल ९सेबोन० का विज्ञ सदस्य रहेका ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भईसकेका उनलाई अर्थमन्त्री खतिवडाले बोर्डको अध्यक्ष बनाउनका लागि यस अघि विज्ञ सदस्यमा नियुक्त गरेका श्रोत बताउँछ ।
त्यस्तै अर्का दाबेदारका रुपमा रहका निरज गिरी हाल सेबोनका कार्यकारी निर्देशक हुन् । गत चैतमा शेयर लगानीकर्ता दबाब समूहले गरेको धितोपत्र बोर्ड विरुद्व ८ दिने आन्दोलनमा निवर्तमान अध्यक्ष डा। रेवतकुमार कार्की र सेबोनका कार्यकारी निर्देशक रहेका गिरीको राजीनामा मागिएको थियो ।
त्यसैले गिरी माथी लगानीकर्ताको त्यती समर्थन देखिँदैन ।
समितिले सिफारिस गरेका अर्का दाबेदार डा. केशव प्रसाद श्रेष्ठ राष्ट्रिय बीमा कम्पनीका पूर्व सञ्चालक हुन् । यस अघि खुल्ला प्रतिस्पर्धाबाट आवेदन दिएका श्रेष्ठको नाम बोर्डले केही समय पछि मात्र खुलाएको थियो ।
सिफारिस भएका तीन दाबेदार मध्यबाट जसले बोर्डको जिम्मेवारी लिए पनि ओरालो यात्रामा रहेको पूँजी बजार व्यवस्थापन र समग्र शेयर लगानीकर्ताको विश्वास जित्नलाई नयाँँ अध्यक्षले ठूलो भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया