बीमा सुचना केन्द्र स्थापना गर्न समिति गठन, ठगी गर्नेलाई कालोसुचीमा राख्ने तयारी

६ बर्ष अगाडि

बीमा समितिले बीमा सुचना केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यसका लागि हालै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको सयोजकत्वमा ३ सदस्यीय समिति पनि गठन गरिएको छ । 

उक्त समितिमा जीवन बीमा कम्पनीको तर्फदेखि ज्योति लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ प्रकाश खत्री र निर्जीवन बीमा कम्पनीको तर्फदेखि प्रभु इन्स्योेरेन्सका सीईओ सञ्चित बज्राचार्य सदस्य छन् ।

बीमा क्षेत्रमा हुने गठीका घटनालाई नियन्त्रण गर्न समितिले सुचना केन्द्र स्थापना गर्न लागेको हो । यसमा बीमा कम्पनीहरुको पनि शेयर स्वामित्व हुनेछ ।

समितिको रू. ३ लाख र ४० कम्पनीको रू. १/१ लाख गरेर जम्मा रू. ४३ लाखको चुक्तापुँजीमा सुचना केन्द्र स्थापना गर्न लागिएको हो । 

समितिका एक अधिकारीका अनुसार उक्त समितिका सदस्यहरूलाई पत्रचार गरि सकिएको छ, अबको केहीदिनमा उक्त समितिको बैठक बसेर थप प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

संसदमा बिचराधिन अवस्थामा रहेको बीमा सम्बन्धी विधेयकमा पनि यो व्यवस्था छ, तर समितिले त्यो विद्येयक पारित नहुँदै सुचना केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

विदेशी मुलुकका बीमा बजारमा पनि यस्ता प्रकृतिका सूचना केन्द्र सञ्चालन रहेका छन् । ती केन्द्रको कानूनी व्यवस्थाका आधारमा बीमा सूचना केन्द्रको संरचना बनाउने समितिको तयारी छ । 

अब सुचना केन्द्र स्थापनाका लागि गठित समितिले कार्यविधी तथा आवश्यक पुर्वाधार जुटाउने काम गर्ने छ । त्यसपछि ढिलोमा पनि असारभित्र उक्त सुचना केन्द्र स्थापना गर्ने समितिको योजना छ । 

राष्ट्र बैंक र बैंकहरुको सहकार्यमा पहिले नै कर्जा सुचना केन्द्र गरिएको थियो । कर्जा सुचना केन्द्रले बैंक तथा वित्तिय संस्थामा ठगी गर्ने व्यक्तिलाई कालोसुचीमा राख्ने काम गर्दै आएको छ ।

बीमा सुचना केन्द्रले पनि त्यस्तै प्रकृतिको काम गर्नेछ । सुचना केन्द्र मार्फत बीमा क्षेत्रमा ठगी गर्ने जो कोहीलाई पनि कालोसुचीमा राख्ने प्रावधान ल्याउने समितिको योजना छ ।

त्यसपछि कालोसुचीमा भएका व्यक्तिले नेपालका बीमा कम्पनीबाट बीमा सुविधा लिन पाउने छैनन् । यस्तै, कालोसुचीबाट हट्न प्रावधान पनि ल्याइने समितिको भनाइ छ ।

कम्पनीहरुले आफ्ना सम्पुर्ण ग्राहकका आवश्यक सुचनाहरु केन्द्रमा पठाउनुपर्ने छ  र त्यही सुचनाको आधारमा केन्द्रले गठी गर्ने व्यक्तिलाई कालोसुचीमा राख्न सक्ने छ ।

बीमा बजारमा पहिलेदेखि नै बिभिन्न प्रकारका ठगीका क्रियाकलाप हुँदै आएका छन्, अब सुचना केन्द्रले त्यस्ता  घटनालाई नियन्त्रया गर्ने समितिको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया