पोखरा–राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम हुने र सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा भएपनि उत्साहित हुने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
मिडिया नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘ सरकार गठनको शुरुआती दिनमा केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको छ ।’
यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने, बहुचर्चित ३३ केजी सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्नेलगायतबारे सरकारले चर्चा अनुरुप काम गर्न नसकेको उनको भनाई थियो ।
देशमा भ्रष्टाचार बढ्दै दाबी गर्दै थापाले सरकारले जनमुखी हुन नसकेको पनि आरोप लगाए । यस्तो अवस्थामा राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको उनको दाबी थियो ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको रहेको भन्दै उनले भने, ‘एजेन्डा स्पष्ट नपारेसम्म पशुपतिशमशेर राणाजीसंग वार्ता स्थगित गरिएको छ । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा कांग्रेस र कम्युनिस्टको विकल्पमा उभिएको फरक विचार र फरक मार्गचित्र सहितको अलग्गै पार्टी हो, कसैले भाइ कांग्रेस वा भाइ कम्युनिस्ट नठानोस् । कसैलाई भाइ बन्न मन भए बने हुन्छ तर राप्रपा आफ्नो एजेन्डा र मार्गचित्रमा स्पष्ट र दृढ छ ।’
राप्रपा अध्यक्ष थापा पार्टीको गण्डकी प्रदेश कार्यालय स्थापना र गण्डकी प्रदेश स्तरीय हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानको क्रममा सहभागी हुन पोखरामा छन् ।
प्रतिक्रिया