नेपाल धितोपत्र बोडको अध्यक्ष छनाैट प्रकृया अन्तिम चरणमा पुगेको छ ।
बोर्डको अध्यक्ष बन्न आवेदन दिएका ८ जना मध्येबाट ५ जनाको नाम 'सर्टलिष्ट'मा परेसँगै नियुक्ति प्रकृया अन्तिम चरमा पुगेकाे छनाैट समितिले जनाएकाे छ ।
यस अघि अध्यक्ष चयन गर्न गठित समितिले नयाँ मापदण्ड सहित अध्यक्षकाे पदपूर्ति गर्न इच्छुक उमेदवारसँग आवेदन माग गरेको थियो ।
गत शुक्रबार समितिले आवेदन दिएका ८ जना बाट निरज गिरी, भीष्मराज ढुँगाना, डा. नवराज अधिकारी, केशव प्रसाद श्रेष्ठ र सीताराम थपलियाको नाम सिफारीस गरेको थियाे ।
अध्यक्ष नियुक्ति प्रकृया अन्तिम चरणमा पुगेको अध्यक्ष चयन गर्न गठित समितिका संयोजक रामकुमार फुयाँलले बताएका छन् ।
उनका अनुसार आज, शुक्रबार सर्टलिष्टमा परेका ५ जना उमेद्वारले तयार पारेको कार्य पत्र प्रस्तुत गर्ने दिन रहेको छ ।
'समितिले छानेको उमेदवारले तयार पारेको कार्य पत्रको प्रस्तुतिको मूल्यांकन गर्नेछ', आजको अर्थसगँको कुराकानीमा उनले भने, 'अब छिट्टै हामी अन्तर्वार्ता लिनेछौँ '।
उनी भन्छन्, 'उमेद्वारले प्रस्तुत गरेको कार्यपत्र र अन्तरवार्तालाई मूल्यांकन गर्दै मर्यादाक्रम अनुसार सिफारीस गरिएका नाम अर्थ मन्त्रालय पठउनेछौँ '।
उनका अनुसार अर्थले मन्त्रीपरिषदमा लगेपछि मात्र नयाँ अध्यक्षकाे बारेमा निर्णय हुनेछ र असोज महिनाबाट नेतृत्वबिहीन रहेको धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउने छ ।
निवर्तमान अध्यक्ष डा. रेवत कुमार कार्कीले गत असोज ४ गते अवकाश पाएपछि हाल बोर्ड नेतृत्व बिहीन रहेको छ ।
अर्थ मन्त्रालयले बोर्डको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई जिम्मेवारी दिएता पनि लगानीकर्ताले वास्तिवक अध्यक्षको नियुक्तीका लागी दबाब दिएपछि मन्त्रालयले तत्काल राष्टिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा अर्थ मन्त्रालयका राजेश्व सचिव शिशिरकुमार ढुङगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य सहितको तीन सदस्यीय समिति गठन गरेको थियो ।
बोर्डको अध्यक्ष छनौट गर्न समिति गठन भएको दुई महिना पुग्न लाग्दा बोर्डले अब छिट्टै नयाँ अध्यक्ष पाउने छाँटकाँट देखिएको हो । बाेर्डका अध्यक्षकाे कार्यकाल ४ वर्षकाे रहने छ ।
हाल ओरालो यात्रामा रहेको पूँजी बजार व्यवस्थापनका लागि कस्ताे नेतृत्व छनाैट हाेला ? सबैको चासोको विषय बनेको छ ।
प्रतिक्रिया