न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

६ बर्ष अगाडि

बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ । समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताए ।  उनका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी  पर्ने गरेको  छ ।

“सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ”, उपप्रमुख राईले भने । उनका अनुसार आव २०७५÷७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ । छ वटालाई अदालतमा सिफारिस गरिएको छ र  १६ वटा फैसला भएको छ । 

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ । आव ०७५÷७६ मा ढल, बाटो निकासका चार उजुरी दर्ता भएको छ । त्यस्तै लेनदेन,  बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषसम्बन्धी चार, साँधसिमाना मिचेको सात, अन्तरकालीन आदेश एक,  शान्तिसुरक्षा र ज्याला  पाँच, घर पर्खाल निर्माण सम्पन्न छ,  ठगीका आठ, पारिवारि तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध आठ उजुरी दर्ता भएको छ । 

त्यस्तै चालु आव २०७६÷७७ मा पनि उजुरी आउने क्रम बढिरहेको  नगरपालिकाले जनाएको छ । चालु आवको साउनयता नगरपालिकामा ४० उजूरी दर्ता भएका छन् ।

 दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ । नगरपालिकामा चालु आवमा आठ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, पाँच पारिवारिक विवाद, पाँच घरबहाल, एक शान्तिसुरक्षा ज्याला, दुई गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ । समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक  मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया